श्रावण १४, २०८३ बिहिबार July 30, 2026

नागको पूजाको धार्मिक विश्वास आराधना गरी नाग पञ्चमी मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ ।

एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाईहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।

नागका बाह्र नाम भएपनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहँुदैन भन्ने मान्यता छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार