कार्तिक २९, २०८३ आइतबार November 15, 2026

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, १२ पुस । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।

पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीनपटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै सुरु गर्ने प्रचलन छ । तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् । बर्दिबास–२ की फुलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ । चाँडै बजार पु¥याइएन नसकिए उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरु काम छोडेर यसैमा लागेका उनले बताए ।

“आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन”, मगर भन्छन्, “त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेका छौँ ।” यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गरेकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानकामे जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम रु चार सयमा बिक्री भइरहेको उनले जानकारी दिए ।

यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त छन् । राम्रो मिठ्ठा प्रतिकिलोग्राम एक सय २० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठ्ठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउँछन् । यसपालि १० कठ्ठामा उखुखेती गरेका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।

गरिब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा सख्खरखण्ड (सुठुनी), तरुल, मास, पिँडालुुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया