असार ६, २०८३ शनिबार June 20, 2026

संसद्‌मा राजनीतिक दललाई कदापि छुट्याएर हेर्न सकिँदैन : योगेश भट्टराई (अन्तर्वार्ता)

संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारुढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सत्तारुढ प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको कार्यदल कस्तो हो ?

प्रमुख राजनैतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबिच भिन्न विषयमा सहजीकरण गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनेको छ । दुवै पार्टीका प्रमुखको नेतृत्वमा अन्य शीर्ष नेताहरू सम्मिलित संयन्त्र नै बनेको छ । यो संयन्त्रले विभिन्न स्तरमा कार्यदल बनाएर काम गर्ने समझदारी पनि बनेको छ । यस्ता संयन्त्रहरू जिल्ला तहमा, प्रदेश तहमा र केन्द्रीय तहमा बनेका छन् । अन्य विषय केन्द्रित संयन्त्र कार्यदल पनि बनेका छन् । सरकारको कामलाई प्रभावकारी बनाउन संसदलाई प्रभावकारी बनाउन र सबै अङ्गलाई गति दिन यस्ता संयन्त्रको आवश्यकता देखिएको हो । यस्ता काममा कार्यदलले छिटो छरितो कार्यसम्पादनको लागि सहयोग गर्नेछ ।

शीर्ष नेतृत्व अन्तर्गत अरु तीनवटा कार्यदल पनि बनेको छ । यसमा एउटा कार्यदलले संविधान संशोधन सम्बन्धी काम गर्छ । दुई दलको सात बुँदे सहमतिमा संविधान संशोधन मुख्य एजेन्डा छ । यो कार्यदलले संविधान संशोधनका मुख्य-मुख्य विषयबारे छलफल गरी प्रक्रियाबारे सुझाव दिनेछ । संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच साझा सहमतिको खाका तयार गरिनेछ । यसपछि कार्यदलले संसदभित्र रहेका अन्य दलहरूसँग छलफल गरेर सहमति जुटाउन प्रयास गर्नेछ । दोस्रो कार्यदलले अहिले आर्थिक क्षेत्रमा देखिएको बाधा र अप्ठ्यारा पहिल्याएर सुझाव दिनेछ । यो कार्यदलले विद्यमान कानून तथा व्यवस्थाको अध्ययन गर्नेछ । देशमा लगानीको वातावरण बनाउन, सुशासन कायम गराउन र भ्रष्टाचार निवारण गर्न कानुनी आवश्यकताबारे पनि यो कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ । यसले दिने सुझावको आधारमा विधेयक तर्जुमा गर्ने संसदमा लैजाने, कानुन संशोधन गर्नुपर्ने भए त्यसको आधारमा संशोधन प्रस्ताव समेत निर्माण गर्नेछ । यो कार्यदलले आफ्नो काम थालिसकेको छ ।

तेस्रो कार्यदलले सङ्घीय संसदमा विचाराधीन रहेको, छलफलमा रहेको विधेयकलाई छिटो भन्दा छिटो समितिबाट संसद् बैठकमा टेबल गर्न सघाउनेछ । सङ्घीय संसद्को दुवै सदनका विभिन्न समितिमा १९ बढी विधेयक छलफलमा छन् । यसमध्ये कति विधेयक धेरै समयदेखि समितिमा नै अड्किएर बसेको छ । सबै विधेयक आगामी अधिवेशनमा टेबल गरेर पास गराउने गरी काम थालेका छौँ ।

हिजोको बैठक कस्तो बैठक हो, के गर्नुभयो ?

बैठकमा हामीले समितिमा रहेका विधेयकहरूको अवस्थाबारे प्रारम्भिक रूपमा छलफल गरेका छौँ । कुन विधेयक कस्तो अवस्थामा छ, कहाँ कसरी अड्किएको छ त्यो हेरेका छौँ । करिब १९ वटा विधेयकमा १५ वटा विधेयक प्रतिनिधि सभामा नै रहेको छ । कतिपय विधेयक समितिको छलफलमा अन्तिममा पुगेको छ भने कतिपयमा निरन्तर छलफल चलिरहेको छ । कतिपयमा सामान्य छलफल भएर अड्किएको छ भने कतिमा छलफल नै भएको छैन । सबै विधेयकलाई हामी अगाडी बढाउने गरी काम गर्छौँ । छलफलमा रहेका सङ्घीयता कार्यान्वयन सम्बन्धी विधेयकलाई प्राथमिकता साथ अगाडी बढाउनेछौँ । आजबाट यसबारे पनि छलफल सुरु गरेका छौँ । साथै विधेयकका बारेमा अन्य दलहरूसँग प्रमुख सचेतकहरूको मध्यमबाट छलफल अगाडी बढाउनेछौँ । अन्य दलहरू सँग छलफल गरेर विधेयकहरूलाई संसदीय समितिको प्रक्रियाबाट अगाडी बढाउँछौँ । आउने अधिवेशनमा सबै विधेयक पास गराउने गरी काम गर्नेछौँ ।

विधेयक अगाडि बढाउन के कुराले रोकेको छ त ?

विधेयकहरूलाई छिटो छरितो ढङ्गबाट अगाडि बढाउन संसद्को नियमावली बाधक छ कि भन्ने हामीलाई लागेको छ । नियमावली संशोधन गरेर भएपनि विधेयकहरूलाई संसद्को बैठकसम्म लैजानेछौँ । तर एउटा विधेयक समितिमा कति समयसम्म रहने, कहिलेसम्म छलफल गर्ने भन्ने स्पष्ट नहुँदा, समय नतोकिँदा लामो समयसम्म समितिमा विधेयक बसेको छ । हाम्रै संसद्को बैठक समय तोकेर छलफल गर्ने अनि संसदीय समितिमा असीमित समय राख्नु अलि नमिलेको जस्तो छ । यसलाई मिलाउनुपर्नेछ । अब कुनै विधेयक समितिमा कति समयसम्म राख्ने भन्ने व्यवस्था नियमावलीमा राख्नुपर्ने भएको छ । नियमावली संशोधन गर्नुपर्ने भएको छ । नियमावली संशोधनको विषयमा सबै राजनैतिक दलसँग छलफल गर्नेछौँ । सभामुखसँग पनि छलफल गरेर आगामी अधिवेशनमा नियमावली संशोधन गर्नेछौँ ।

सरकारमा तपाईँहरू, संसदमा, समितिमा बहुमत तपाईँहरूको, समितिमा सभापति तपाईँहरूको अनि विधेयक किन अगाडी नबढेको, यो विषय हेर्नुभएको छ ?

संसदमा कसको कति संख्या छ भन्ने आधारमा समितिको छलफल वा निर्णय नहुने रहेछ । समितिको काम कार्यपात्रो (क्यालेण्डर) अनुसार नहुँदा र हामीसँग जति पनि समय छ भनेर छलफल लम्बिएको छ । कतिपय बैठक कोरम नै नपुगेर स्थगित हुने अवस्था देखियो । सांसदहरुमा समय पर्याप्त छ भनेर बैठक लम्ब्याउने प्रवृत्ति पनि देखियो । कार्यपात्रो (क्यालेण्डर) बनाएर समय सीमा तोकेर समितिका बैठक सञ्चालन गरेर अगाडी बढे बाध्यता पनि हुन्छ । प्रभावकारी पनि हुन्छ भन्ने हामीलाई लागेको छ । समितिमा विधेयक आएको २/३ महिना भित्र संसद् बैठकमा पेस गर्ने भनियो भने समितिले छिटो काम गर्छ, विज्ञ तथा सरोकारवालाको राय सुझाव पनि तालिका बनाएर लिन्छ भन्ने हाम्रो विश्वास हो । विदेशमा यसप्रकारको असल अभ्यास रहेको छ । बेलायतमा त विधेयक अनुसारको अस्थयी प्रकृतिको समिति बनाएर काम गर्ने चलन रहेछ । हामी पनि यस्तै मोडलमा जानसक्छाैँ ।

सांसदहरुले समितिमा बसेर खुला मन, उदार विधायीकी मनसाय साथ काम गर्न नसक्ने अवस्था आउने हो कि,राजनैतिक दलको सहमतिले सांसदको सार्वभौम अधिकार खुम्चिने, सङ्कुचन हुने डर पनि छ नि ?

हो, यसको विषयमा विभिन्न मिडियामा समाचारहरू आएको छ,मैले पनि हेरेको छु । यो विषय राम्रो मनसाय साथ नै आएको हो भन्ने मैले बुझेको छु । सांसदहरूको भूमिकामा सङ्कुचन नआओस् भनेर चिन्ता देखिनु राम्रो हो । यो सँगै अर्को बुझ्नुपर्ने कुरा भनेको राजनैतिक दलले समन्वय गर्ने भनेको नै संसद् भित्र रहेको दलले समन्वय गर्ने भनेको हो । राजनैतिक दल भनेको संसद्को एउटा भाग नै हो । हामी पार्टी र पार्लियामेण्ट प्रणालीमा छौँ । राजनैतिक दलले समन्वय नगर्ने हो भने बिवादित विषय निष्कर्षमा पुग्नै सक्दैन । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक लामो समयपछि पास भयो । यो विधेयक पास हुनुको पछाडि राजनैतिक दलहरूले गरेको समन्वय मेहनत र छलफलको परिणाम हो भन्नेकुरा बिर्सनु हुन्न । संसद्को जटिल विषय पनि राजनैतिक तहबाट समाधान खोजिन्छ । तर यसलाई संसदीय प्रक्रिया नै अवलम्बन गरेर नै अगाडी बढाइन्छ । यसमा सांसदहरूको सार्वभौम अधिकारलाई कुण्ठित नगरी प्रक्रिया अगाडी बढाइन्छ । यिनै प्रक्रियालाई समन्वय र सहजीकरण गर्न हामीले कार्यदलहरू बनाएका हौँ । यो सबै देशमा देखिन्छ, राम्रो अभ्यास पनि छ । हाम्रो संयुक्त सरकारमा यसको आवश्यकता अझ बढी छ ।

अहिले तपाईँहरू बहुमतमा हुनुहुन्छ, यस्तो अवस्थामा अल्पमतको कदर कसरी हुन्छ, साना दल, अल्पमतमा रहेको दलहरुको विचार भावना बहुमतले थिचेर जाने डर पनि देखिन्छ नि ?

हाम्रो अभ्यास र अनुभवमा एकदमै थोरै संख्यामा विधेयक बहुमत, अल्पमत छुट्टाएर पास गरेको अवस्था छ । हामीले धेरै विधेयक सर्वसम्मतिले पास गरेका छौँ । हाम्रो संसदीय इतिहासमा, अभ्यासमा धेरै विधेयक सर्वसम्मतिले सहमतिले पास गरेका छौँ । हामीले दुई पार्टीको समन्वयमा अवलम्बन गरेको प्रक्रियाले सर्वसम्मत प्रक्रिया नै प्राथमिकतामा रहन्छ,त्यसरी नै लैजान्छौँ ।

नेपाली कांग्रेस र एमाले दल बाहेकका दलहरूसँग बसेर सहमति बनाउने, राय–सुझाव लिने, सल्लाह लिने र सर्वसम्मतिले नै काम गर्छौँ । सकेसम्म सहमति खोज्ने तर सहमति जुट्न नसके मात्र बहुमत र अल्पमत छुट्टाएर निर्णय लिन्छौ । यद्यपि यो अन्तिम विकल्प हो । मत विभाजनमा पुग्नु अगाडी पर्याप्त छलफल गरेका हुनेछौँ, सहमति खोज्ने प्रयास खोज्न छौँ । न्यूजएजेन्सी नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
२०८३ असार ६, शनिबार
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार