असार २८, २०८२ शनिबार July 12, 2025

कर्णालीमा एक हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया

अस्पताल स्थापनाको दुई वर्षयता १८ वर्ष मुनिका एक हजार दुई सय ४५ बालबालिकाको शल्यक्रिया सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी)ले यहाँका एक हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया गरेको छ ।

अस्पतालले स्थापनाको दुई वर्षयता १८ वर्ष मुनिका एक हजार दुई सय ४५ बालबालिकाको शल्यक्रिया गरेको हो ।

जन्मजात खुट्टा तथा पैतला बाङ्गो भएर असहज जीवन व्यहोरिरहेका ती बालबालिकालाई शल्यक्रियामार्फत सामान्य जीवनशैलीमा फर्काइएको अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापन केन्द्र कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख होमराज केसीले जानकारी दिनुभयो ।

“दुई सय ७६ जनालाई सहायक सामग्री नापजाप तथा वितरण र प्रदेशका विभिन्न कार्यालय, समुदाय तथा विद्यालयमा पुगेर करिब पाँच हजार दुई सयभन्दा बढीलाई यसबारे अभिमुखीकरण दिइएको छ”, उहाँले भन्नुभयो, “मङ्गलबार मात्र ५५ बालबालिकाको पहिचान तथा उपचार हुँदा १० बालबालिकालाई शल्यक्रियाका लागि हालै अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेपलाञ्चोक बनेपामा भर्ना लागि सिफारिस गरिएको छ ।

पाँच बालबालिकालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएको जनाइएको छ ।” कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिकाको सुर्खेतमै शल्यक्रिया हुन थालेपछि अहिले अस्पतालमा आउने सेवाग्राहीको सङ्ख्या दैनिक रुपमा वृद्धि हुँदै गएको उहाँले जनाउनुभयो । 

कार्यालय प्रमुख केसीका अनुसार कर्णाली प्रदेशमा उपचारात्मक अवस्थाका अझै १० हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाहरू छन् । यसमा सबैभन्दा बढी बालबालिका जाजरकोटमा छन् ।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले सुर्खेतले फिजियोथेरापी सामग्री तथा उपकरणका साथै सहायक सामग्री पनि राखेको छ । विकट भूगोल, अशिक्षा, गरिबी, कुपोषित आमा र असहज वातावरणले कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिका सबै राज्यको पहुँचमा नहुँदा पुनः स्थापन केन्द्रले ठूलो राहत पुर्याएको वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका वडाध्यक्ष दिनेश खत्रीले बताउनुभयो ।

“अपाङ्गताका कारण समाजबाट हेपिएका, नैराश्य जीवन व्यतीत गरिरहेका र उपचारको अभावमा पिल्सिएका बिरामी तथा परिवारका लागि अपाङ्ग बाल अस्पताल वीरेन्द्रनगर–१ सुर्खेत ठूलो सहयोगी बनेको छ”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “पुनः स्थापन केन्द्रको कार्य, यसले राखेको लक्ष्य र लिएको उद्देश्य परिपूर्ति गर्न वडासहित स्थानीय सरकार आवश्यक सहयोग गर्न लागिपर्छ ।” 

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र कर्णाली प्रदेश कार्यालय स्थापनाले यहाँका १८ वर्ष मुनिका बालबालिकालाई ठूलो राहत गरेको प्रतिक्रिया दिनुभयो । नागरिक सेवा र समाज कल्याणमा राज्यले गर्न नसकेका काम गर्ने सामाजिक संस्थालाई सरकारले विशेष सहयोग गर्नुपर्ने प्रमुख सुनारको भनाइ छ ।

समुदायमा आधारित पुनर्वास (सिविआर)का संयोजक नित्रबहादुर देउजाले अपाङ्ग बाल अस्पताल कर्णाली प्रदेशले विभिन्न जिल्लाका एक हजार आठ सय ५५ जनालाई मोबाइल क्याम्पमार्फत स्क्रिनिङ गरिएको बताउनुभयो । उहाँका अनुसार अपाङ्गता भएका बालबालिकाको उपचार सामग्रीसहित उनीहरूको पुनः स्थापनमा सिबिएम ग्लोबलको ठूलो सहयोग रहेको छ ।

अपाङ्ग बाल अस्पताल, राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेश, सिएमसी नेपाल सिबिएम ग्लोबल नेपालको संयुक्त साझेदारीमा भूकम्पपश्चात् जाजरकोटको भेरी तथा नलगाड नगरपालिका, बारेकोट र कुसे गाउँपालिका, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका तथा आठबीसकोट नगरपालिकामा मोबाइल क्याम्प गरी पाँच हजार ६७ जनालाई उपचार सेवा र त्यसमध्ये एक सय १८ जनालाई शल्यक्रियाको लागि अपाङ्ग बाल अस्पतालमा सिफारिस गरिएको संयोजक देउजाले जनाउनुभयो ।

उहाँले प्रदेश कार्यालय स्थापना भएयता पाँच सय ८७ जनालाई सहायक सामग्री नापजाप तथा वितरण गरिएको बताउनुभयो । संयोजक देउजाका अनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले अहिलेसम्म देशैभरि एक लाख २१ हजार एक सय ९१ बालबालिकाको उपचार गरिएको छ भने अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र कर्णाली प्रदेश सुर्खेतको सेवा विस्तारका लागि सिबिएम ग्लोबल नेपालले करिब रु २२ लाख बराबरको सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रतिनिधि जीतलाल ढकालले अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गर्ने पुनः स्थापन केन्द्रको भूमिका प्रभावकारी बन्दै गएको बताउनुभयो । उक्त अस्पतालको कार्य विस्तारले अब यहाँका अपाङ्गता भएका बालबालिकाले उपचार अभाव व्यहोर्न नपर्ने उहाँको भनाइ छ ।

भौगोलिक विकटता, गरिबी र कुपोषणको समस्याका कारण उपचारको पहुँचमा नरहेका अपाङ्गता भएका बालबालिकाको पहिचान, उनीहरूको सहज पहुँच र उपचार तथा अपाङ्गता शिक्षा विस्तार एवं कार्य योजनाका लागि आगामी दिनमा कसरी जाने भन्ने विषयमा अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापन केन्द्र, राष्ट्रिय अपाङ्ग महासङ्घ, सिबिआर ग्लोबल, आइएनएफ, सिएमसी, सोसेक, नेपाल, रेडक्रस तथा आँखा अस्पताल, एभरेष्ट क्लबलगायतका साझेदार संस्थाहरूले शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा कार्यशाला गोष्ठी सम्पन्न गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार