असार २८, २०८२ शनिबार July 12, 2025

निःशुल्क शिविरमा ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ

स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकोहरुको वाहक वा संक्रमित कुन हो अवस्था पत्ता लगाउन थप परीक्षणको काम अघि बढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही, पुस १५ गते । लमही नगरपालिकाको तीन वडाका ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । लमही नगरपालिका –८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा सो संख्यामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिकाको समन्वय तथा आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको सहकार्य एवम् मेट लाईफ नेपालको सहयोगमा सोमबार गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी शिविरमा परीक्षणका लागि ५ सय ७८ जनाको रगत स्क्रिनिङ गरिएको थियो ।

स्क्रिनिङ गरिएकामध्ये १३ दशमलव ५८ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको हो । सिकलसेल एनिमिया जाँच शिविरमा लमही नगरपालिका वडा ७, ८ र ९ का स्थानीय चौधरी, मगर, क्षेत्रीलगायतका समुदायका नागरिकको सहभागीता रहेको थियो ।

स्क्रिनिङ गर्दा धेरैमा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल गरिने ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो ।

स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकोहरुको वाहक वा संक्रमित कुन हो अवस्था पत्ता लगाउन थप परीक्षणको काम अघि बढाइने अध्यक्ष चौधरीले बताउनुभयो । निःशुल्क शिविरको उद्घाटन गर्दै लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परीक्षण अनिवार्य भएको बताउनुभयो ।

सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिति नहोस् भन्ने उद्देश्यसाथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको बताउनुभयो ।

अवस्था पहिचान गरी रोगको उपचारमा सहयोग गर्न र रोग पालेर अरुमा सार्ने अवस्थाको अन्त्य गर्न शिविरले सहयोग गर्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया