काठमाडौं । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो । उनकाअनुसार आज दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । भोलि बाँके-पाल्पा र नवलपरासी-रूपन्देहीबीच खेल हुनेछ ।
यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले जानकारी दिए । उनका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।
प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको ‘पिच’ मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया