कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

नुवाकोट र रसुवाको सीमा क्षेत्र ऐतिहासिक एवं धार्मिक तीर्थस्थल बेत्रावतीमा गोरु जुधाउने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट ।  माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाइको मेलाको तयारी पुरा भएको छ । गोरु जुधाई मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

नुवाकोटको मात्रै नभई नेपालकै एक मात्र गोरु जुधाई गरिने नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा गरिँदै आएको गोरु जुधाई मेलाको लागी गोरु दर्ता गराउने काम सबै स्थानमा सकिएको छ । माघ १ गते मङ्गलवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिका लगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ ।

नुवाकोटको तारुकाको चन्दनीमा १४, बेत्रावतीमा ११ तथा पञ्चकन्यामा १० हल गोरु जुधाउन तयारी गरिएका छन् । तीनै स्थानमा विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोरु जुधाई मेला अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित छ । यस पटक तारुकामा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाइलाई मेलालाई आयोजकहरूले विशेष रूपमा तयारी गरिएको जनाएका छन् ।

सदियौँदेखि माघे सङ्क्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यस वर्ष तारुकाको पौरख, नेपालको गौरव भन्ने मूल नाराका साथ गोरु जुधाउन लागिएको छ । यस वर्ष तारुकाको चन्दनीमा ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

जुधाइने गोरु दुई हजार रुपैयाँ पछि फिर्ता हुने गरी  शुल्क लिइएको छ भने गोरुको वर्गीकरण गरी क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने आयोजकले जनाएको छ । गत वर्ष विजेता गोरुका धनीहरूलाई प्रोत्साहन स्वरूप वर्गीकरण अनुसार १०, ८ र ६ हजार पुरस्कार प्रदान गरिएको थियो ।

जुधाइने गोरुको औषधि उपचार तथा बिमाको व्यवस्था गरिएको छ । गोरु जुधाइलाई यस पटक महोत्सवसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत रहेको आयोजकले जानकारी दिएको छ । तारुकामा यस वर्ष १४ हल गोरु जुधाइने तयारी भएको छ ।

तारुका गोरु जुधाई महोत्सव आयोजक समितिले तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसंक्रान्ति मेलाको अवसरमा जुधाउन गोरु दर्ता भएको जनाएको छ । ‘माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार समितिले किसानलाई मेलालाई महोत्सवसहित मनोरञ्जनात्मक बनाइएको छ ।

उहाँका अनुसार यस वर्ष गोरु जुधाई मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गरिएको छ । माघे सङ्क्रान्ति पर्व तारुकामा बिदेसिएका युवा जनशक्ति घर फर्कन पर्व भएका कारण विशेष रूपमा रहेको श्रेष्ठले बताउनुभयो ।

तारुकाको गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने आयोजकले बताएका छन् । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा मनाउन लागिएको छ ।’

तारकेश्वर गापाले गोरु जुधाई मेलालाई सम्पन्न गर्न आर्थिक सहयोग गरेको अध्यक्ष शिव अधिकारी अविरलले बताउनुभयो । तारुकाको चन्दनीको गोरु जुधाई नेपालको एक मात्र स्थानमा हुने गोरु जुधाई भएको कारण यसको संरक्षण र सम्वद्र्धनमा विशेष योजना रहेको उहाँले बताउनुभयो ।

‘गोरुलाई समय निर्धारण नगरी एक आपसमा जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ’–मेला सञ्चालन समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो । माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ ।

प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरु धनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । नुवाकोटको तारकेश्वर–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ ।

तारुकाको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन यसलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।’

तारुकाको चन्दनीको गोरु जुधाई महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्रि प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  कार्यक्रममा विभिन्न कलाकारहरूसहितको सांस्कृतिक कार्यक्रम पनि राखिएको छ ।

तारुकाको मौलिक परम्परा र इतिहास जीवन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरू समेत आकर्षित हुन थालेका छन् । नुवाकोटको विदुर नगरपालिका  १० बेत्रावती वगरमा समेत गोरु जुधाई मेला आयोजना गरिएको छ ।

बेत्रावतीको गोरु मेलाको तयारीसमेत अन्तिम चरणमा पुगेको छ । ११ हल गोरु जुधाइने स्थलको निर्माण तथा बजारलाई सिँगार्ने काम भइरहेको गोसाईंकुण्ड युवा क्लब बेत्रावतीले जनाएको छ ।

गोरु जुधाउनका लागि मैदान सम्म्याउने काम पुरा भएको छ । यस पटक नौ हल गोरु जुधाउने तयारी भएको आयोजक समितिका गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राह्मण समुदायको बालन भजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रदर्शन गरिने छ ।  क्लबका अनुसार राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

गोरु जुधाइका अवसरमा नुवाकोट, रसुवाका लोक गायक÷गायिकाहरूको प्रस्तुति समेत रहने छ । जुधाई जित्ने पहिलो गोरु धनी किसानलाई १५ हजार रुपैयाँ र दोस्रो हुने गोरुको धनीलाई १३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बेत्रावती माघे सङ्क्रान्ति गोरु जुधाई मेला आयोजक समितिले जनाएको छ ।

जुध्ने क्रममा चोटपटक लाग्ने गोरुको बिमा समेत भएको छ । नुवाकोट र रसुवाको सीमा क्षेत्र ऐतिहासिक एवं धार्मिक तीर्थस्थल बेत्रावतीमा गोरु जुधाउने परम्परा छ ।

बेत्रावतीको गोरु जुधाई माघे सङ्क्रान्तिका दिन बेत्रावतीका जुडिफाँट, साम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटहरूमा घ्यू चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटहरूमा लैजादा बेत्रावतीका किसानहरूले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । उता, नुवाकोटको पञ्चकन्या गापामा ११ हल गोरु जुधाइने मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

गोरु जुधाई हेर्नका लागि नुवाकोटको तारुका र बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायात सजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्सेनि बढ्दै गइरहेको आयोजकहरूको भनाई रहेको छ । गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गोरखा वाटसमेत सर्वसाधारण आउने गरेका छन् ।

गोरु जुधाई मेलामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा कोसमेत विशेष उपस्थिति रहने जनाइएको छ । माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका अनुसार यस पटक चन्दनीको कटहरबोट पाटामा १४ हल गोरु जुधाउने तयारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार