कार्तिक २९, २०८३ आइतबार November 15, 2026

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव

पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

छठ महापर्व, २०८३ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले हिमाल, पहाड र मधेसका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले हाम्रो राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई अझ सुदृढ बनाएको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले मानव, प्रकृति र सृष्टिबीचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताउनुभएको छ । उहाँले सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अघ्र्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले अस्ताउँदो सूर्यलाई सम्मानपूर्वक अघ्र्य अर्पण र नमन गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने छठको परम्पराले जीवनका हरेक अवस्था, सङ्घर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उल्लेख गर्नुभएको छ । ‘नहाय–खाय’, ‘खरना (रसयारोटी)’, सन्ध्या अघ्र्य र उषा अघ्र्यका धार्मिक अनुष्ठानहरूले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने उल्लेख गर्दै उहाँले बर्तालुहरूले कठिन साधना र संयमका साथ सम्पन्न गर्ने यो पर्वले इच्छाशक्ति, परिवारप्रतिको समर्पण तथा सामूहिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्ने बताउनुभएको छ ।

“छठ पूजा–आराधनाको पर्व मात्र होइन, सामाजिक समरसता र सहअस्तित्वको उत्सव पनि हो । बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल, अन्न तथा परम्परागत सामग्रीको प्रयोगले हाम्रो रैथाने ज्ञान, श्रमसंस्कृति र स्थानीय उत्पादनप्रतिको सम्मानलाई उजागर गर्दछ”, उपराष्ट्रपति यादवद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपति यादवले छठमा प्रसादका रुपमा प्रयोग गरिने विशेष परिकारहरु ठेकुवा, भुसुवा, पिरुकिया, खजुरियालगायतले रैथाने संस्कृतिको संरक्षणमा टेवा पुग्ने जनाउँदै विभिन्न समुदाय, पेसा र वर्गका मानिसको साझा सहभागिताले छठ पर्वलाई सामाजिक एकता र पारस्परिक सहयोगको जीवन्त पर्वका रूपमा स्थापित गरेको बताउनुभएको छ । नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठ पर्वले वातावरणीय चेतना र प्राकृतिक स्रोतहरूको संरक्षणप्रतिको जिम्मेवारीसमेत बोध गराउने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले छठ पर्वले सम्पूर्ण नेपालीमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना विकास गरोस् भनी कामना गर्नुभयो । उहाँले सूर्यदेव र छठी माताको कृपाले प्रत्येक नेपालीको जीवनमा आशा, उत्साह, स्वास्थ्य, सुख र सफलताको प्रकाश फैलियोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार