श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रयोगविहीन बन्दै हुलाक सेवा

प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरूचि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ, ४ माघ : कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।

पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिको विस्तारसँगै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो । विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो । व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनैबेला प्रमुख साधन बनेकोे हुलाक सेवा पछिल्लो समय निष्प्रभावी भएको छ । प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरूचि बढ्दै गएको पाइन्छ ।

राइनास नगरपालिकाका ९३ वर्षीय मनमाया गुरूङले भन्नुभयो, “विगतमा चिठ्ठीपत्र हुलाकी दाईले घरघरमा ल्याउने गर्दथे, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा अर्थात् चिठ्ठीपत्र प्रयोग गरेका थियौँ । विगतमा हुलाकीलाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गरिन्थ्यो, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो ।” अहिले आधुनिक प्रविधिसँगै मोबाइल, इन्टरनेटको माध्यमबाट विदेश तथा विभिन्न ठाउँमा रहेका आफ्ना आफन्तको हालखबर मिनेटमै पाउने गर्दा चिठ्ठीपत्र पठाउन नपर्ने भएसँगै यसको बेवास्ता भएको उहाँले बताउनुभयो ।

“विगतमा चिठ्ठीपत्र पाउन पनि महिनौँ दिन कुर्नुपथ्र्यो, त्यसको महत्त्व ठूलो थियो । घर वरिपरि नै हुलाकी दाइ भेटिन्थे तर अहिले हुलाकी दाइ देख्न पनि रहर भइसक्यो,” उहाँले भन्नुभयो । तर अहिले हुलाक समयानुकूल हुन नसक्दा नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । हुलाक भनेको सुनेको, हुलाक कार्यालय देखे पनि यसको काम के हो ? जानकारी खासै नभएको मध्यनेपाल नगरपालिकाका २२ वर्षीय कुमार विकले बताउनुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा छैन र मैले सुने बुझेअनुसार पहिलाजस्तो हुलाक सेवा प्रभावकारी नभएकाले पनि थापा नभएको उहाँको भनाइ छ । नयाँपुस्ताका विकजस्तै कयौँलाई हुलाक सेवाबारे कमैलाई जानकारी छ ।

प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाखा नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत मात्रै काम हुने गरेको हुलाक अधिकृत गङ्गा घलेले बताउनुभयो । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चारसेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगिविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यस जिल्लामा मात्र नभई देशभरिका हुलाक सेवा प्रभावकारी नभएको गुनासो आइरहेको र महत्त्व कम हुँदै गएको पाएकाले यसलाई प्रभावकारी, प्रविधिमैत्री बनाउँदै समयसाक्षेप बनाउनुपर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । विगतकै पारामा अब हुलाक सेवा चल्न नसक्ने र तत्कालै यसलाई परिवर्तन गर्न सक्ने अवस्था पनि नभएकाले विस्तारै हुलाक सेवाका पुरानो नीतिनियमलाई परिमार्जन गरेर प्रविधिमैत्री बनाएर अघि बढ्न लागेको उहाँको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयका अनुसार सरकारी चिठी र केही व्यक्तिको पार्सललगायत गरी बढीमा २०/२५ वटा चिठ्ठी दैनिक आउने गरेको छ । जिल्लामा एक जिल्ला हुलाक, १० वटा इलाका, ५० वटा अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा दुई सय १० जनाभन्दा बढी कर्मचारी छन् । यतिबेला हुलाकका कर्मचारी कार्यालयका कर्मचारी कार्यालय कुर्ने र घाम तापेर घर आउने जाने गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार