देउखुरी, माघ ६ गते । लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न महत्त्वपूर्ण कदमहरू चालिएको हो ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले पारदर्शिता र सुशासन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सरकारका हरेक काममा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन सुधारमा जोड दिइएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्रीका अनुसार पारदर्शिताका लागि सरकारले कार्यालयबाट प्रत्येक निकायमा सूचना अधिकारी तोक्ने प्रक्रिया अघि बढाइएको छ। यसले सूचनाको माग समयमै पूरा गर्ने वातावरण तयार पार्ने अपेक्षा गरिएको छ । सरकारी कामकारबाहीका विषयमा जनतालाई सहजै जानकारी दिन सूचना व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने काम भइरहेको छ ।
नागरिकको हकलाई प्रभावकारी बनाउन सरकारले सूचना प्रवाहमा ढिलासुस्ती र अपारदर्शी प्रक्रियालाई अन्त्य गर्न ठोस कदम चालेको छ। सरकारी कार्यक्रम र कार्यान्वयन प्रक्रियालाई जनताले सहजै नियाल्न पाउने गरी रिपोर्टिङ प्रणालीलाई नियमित र पारदर्शी बनाइएको छ।
मुख्यमन्त्री आचार्यले सरकारका सबै गतिविधि स्पष्ट र प्रभावकारी ढङ्गले जनतासमक्ष पुर्याउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “हामी जनताको ऐना हौं। सरकारका हरेक कामलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन आवश्यक छ ।”
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको उपस्थिति रहेको थियो । सूचना अधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनउत्तरदायी शासन प्रवर्द्धनका लागि सरकारका पहलहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले पारदर्शिता र सुशासनको माध्यमबाट जनताको विश्वास जित्न चालिएका कदमहरूलाई आगामी दिनमा थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। जनताको सूचनामा पहुँच सुनिश्चित गर्न सरकारले सूचना प्रवाह प्रणालीलाई सुधार्न निरन्तर काम गरिरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया