काठमाण्डाैंः वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बुधबार बिहान ३ बजे मृत्यु भएका ती व्यक्तिमा पनि कोरोना सङ्क्रमण देखिएको पुष्टि गर्नुभयो । यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान पौने ११ बजे एकजना उपचाररत सङ्क्रमितको मृत्यु भएको थियो ।यसरी बुधबार पर्साको वीरगञ्जमा मृत्यु हुने सङ्क्रमितमा वीरगञ्ज-६, गहवाका ७० वर्षीय पुरुष र वीरगञ्ज-५, रेशमकोठी ६८ वर्षीय पुरुष रहेका छन् ।
गहवाका मृतकको बुधबार बिहान ३ बजे मृत्यु भएपनि पीसीआर रिपाेर्ट कोरोना पोजेटिभ भनी साझ मात्र आएको थियो भने अर्का बुधबार बिहान पौने ११ बजे मृत्यु भएका ६८ वर्षीय व्यक्ति भने कोरोना सङ्क्रमण पुष्टि भएर पाँच दिनदेखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालका उपचाररत हुनुहुन्थ्यो ।
नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा नै मृतककाे शव राखिएको र शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो । त्यस्तै, गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका ६८ वर्षीय सङ्क्रमितको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । मङ्गलबार वीरगञ्जबाट पाँच जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो ।
विराटनगरबाट धरान रेफर गरिएका सङ्क्रमितको मृत्यु
यसैबीच, जटिल समस्या देखिएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएका एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका मोरङ सुनवर्सीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको बीपीको भेन्टिलेटरमा राखिएपछि अपरान्ह ४ः४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभएको छ ।
दश दिनअघि भारतमा भएको ससुरालीबाट घर फर्किनुभएका उहाँ मङ्गलबार कोशी अस्पतालको फिभर क्लिनिकमा परीक्षणका लागि आउनुभएको कोशीका फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । ज्वरो तथा खोकीको समस्या देखिएपछि कोशीको आइसोलेसनमा भर्ना गरिएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मङ्गलबार कोरोना पोजिटिभ पुष्टि भएको थियो । बुधबार जटिल समस्या देखिएपछि धरान रेफर गरिएको डा. यादवले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया