असार २३, २०८२ सोमबार July 7, 2025

सभामुख घिमिरेले गरे दलका प्रमुख सचेतकहरुसँग छलफल

पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १३  गते। सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे सत्तापक्ष र विपक्षी दलका  प्रमख सचेतकसँग छलफल गर्नुभएको छ।

सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गर्नुभएको हो।

“सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ”, कांगे्रस प्रमुख सचेतक घिमिरेले भन्नुभयो। एमाले प्रमुख सचेतक बर्तौलाले भने संसदमा विचाराधीन सबै विधेयक अघि बढ्ने बताउनुभएको थियो।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ। संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो।

संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाउनुभएको छ। सभामुख घिमिरेले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया