मोरङ, १५ माघः कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ ।
आज आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रदेशगत छैठाँै वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सङ्घीय शासन व्यवस्थामा आर्थिक स्रोतसाधन जुटाउने, नियमन गर्ने र व्यवस्थापन गर्ने जस्ता जिम्मेवारी आयोगको काँधमा रहेको धारणा राख्नुभयो ।
प्रदेश प्रमुख खापुङले आयोगले सिफारिस गरेका ढाँचालाई सबै तहले पालना गरेमा आर्थिक अनुशासन कायम हुनाका साथै राजस्व वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोगका अध्यक्ष पौडेलले सवारीसाधन करको रकम सम्बन्धित प्रदेशभित्रका स्थानीय सरकारललाई अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम मासिक रूपमा उपलव्ध गराउन प्रतिवेदनमा सुझाव दिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली र आयोगका सदस्यको उपस्थिति रहेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया