काठमाडौँ, १५ माघ : नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत् प्रदर्शनी–२०८१’ सुरु भएको छ । महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजित उक्त प्रदर्शनीको प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा शुभारम्भ गर्नुभयो ।
यही माघ १८ गतेसम्म चल्ने सो प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरण राखिएका छन् । त्यसका साथै सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।
सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपद् प्रतिकार्य र विश्व शान्तिलगायत विभिन्न युनिट कार्यजिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।
आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
काठमाडौँ, १५ माघः नेपाली सेनाद्वारा आयोजित फोटो तथा विशेष प्रदर्शनीको मङ्गलबार उद्घाटनपश्चात् अवलोकन गर्नुहुँदै प्रधान सेनापति अशोकराज सिग्देललगायत । तस्बिरः रत्न श्रेष्ठ÷रासस
प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सेनाले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया