माघ २८, २०८१ सोमबार February 10, 2025

वन ऐन संशोधन गर्ने क्रममा छौं : मन्त्री शाही

नमा रहेका साना–साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै ऐन संशोधनको प्रक्रिया अघि बढाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा), माघ १६ गते । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताउनुभएको छ । वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताउनुभएको हो ।

नेपाल प्रेस युनियन पाल्पाले बुधबार रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वन ऐनमा रहेका साना–साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताउनुभयो । “वन ऐन अहिले हामी संशोधन गर्ने क्रममा छौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा छौं । वातावरण संरक्षण ऐन नियमावली बनाउँदैछौं” उहाँले भन्नुभयो ।

विकास निर्माण र वनविच नजिकको सम्बन्ध भए पनि साना कारणले अप्ठ्याराहरु सिर्जना भएको बताउनुभयो । देशमा विदेशबाट काठ आउने, स्वदेशी काठ जंगलमै सडेर जाने परिस्थिति रहेको भन्दै उहाँले वन ऐन संशोधनको माध्यमबाट स्वदेशी काठ सदुपयोग गर्ने, बाहिरको काठलाई निरुत्साहित गर्नका लागि आवश्यक कार्ययोजना बनाइरहेको स्पष्ट पार्नुभयो ।

जलवायु परिवर्तनबाट देशले भोग्नु परेको बताउँदै न्यूनिकरणका लागि प्रयास गर्दैआएको बताउनुभयो । अहिले वन्यजन्तु र मानवविचको द्वन्द्व चलिरहेको अवस्थामा समस्याको समाधानको लागि पहल भइरहेको बताउनुभयो । “अहिले विशेषगरी हात्ती, बाघ, गैंडाबाट मानिसहरुले धेरै दुःख पाइरहेका छन् । बाँदरको समस्या त्यत्तिकै बढेको छ । बंदेल र बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर समस्या समाधानका लागि अघि बढेका छौं” उहाँले भन्नुभयो ।

गिद्ध संरक्षित क्षेत्र रामपुर –८ को खैरेनी वनस्थित जटायु पार्कमा भएको कार्यक्रममा लोपन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण अभियानले संख्या क्रमशः अघि बढ्दै जानु खुशीको कुरा भएको बताउनुभयो । जैविक विविधताको संरक्षणका लागि स्थानीय सरकार र प्रदेश संघ समन्वय गरेर आवश्यक काम अघि बढाउने बताउनुभयो ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले चरा संरक्षणका लागि वन ऐनमा स्पष्ट नीति नहुँदा आवश्यक कार्य गर्न समस्या परेको बताउनुभयो । उहाँले वन ऐनमा विशेष व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशले गिद्ध संरक्षणका लागि जगदिशपुर ताल र खैरेनी वनलाई लिएको बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले वनबाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुनसँग बाझिएको कारणले रोकिएको बताउनुभयो । ६ प्रजातिको गिद्ध पाइने खैरेनी वनको प्रवर्धनका लागि नगरपालिका लागिपरेको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले प्रकृतिका कुचीकार गिद्धको संरक्षणमा खैरेनी वनले महत्वपूर्ण स्थान दिएको बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया