पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश एलिमिनेटर राउण्ड प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालाको भलिबल कोर्टमा टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई ३–१ सेट हराउँदै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौंथो सेटमा पुनरागमन गर्दै जित हासिल गरेको हो । गण्डकीले २१–२५, २५–२१, २५–२२ र २६–२४ सेटले खेल जितेको हो ।
गण्डकी ‘हार्ने समूह’ बाट शीर्ष ६ अंक प्राप्त गर्दै अब भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ । २ खेलबाट १ अंक जोडेको भारतीय टिम तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो । पुरुषतर्फ ६ टिमले भाग लिएको प्रतियोगितामा हेल्प नेपाल र एपिएफ उपाधि होडबाट बाहिरिइसकेका छन् ।
जित्ने समूहबाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिससँग पहिलो क्वालिफायर भेट सुनिश्चित भएको छ । भारतको सुनिल भलिबल क्लबलाई ३–२ सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । आर्मीले २०–२५, २५–१८, २५–२३, २३–२५ र १५–१२ सेटमा जितेको हो ।
बिहीबार महिलातर्फको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । न्यू डायमण्डले फाइनल प्रवेशका लागि एपिएफ र आयोजक टाइगर ग्रुपको पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार महिला र पुरुष दुवैतर्फ पहिलो क्वालिफायर र शनिबार पुरुषतर्फ एलिमिनेटर खेल हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी खेलको आइतबार फाइनल हुनेछ ।
महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख ८५ हजार रुपैयाँ पाउने छन् । उपविजेताले २ लाख ८५ हजार र तृतीयले १ लाख ८५ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए । सर्वाेत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया