मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै

आज देवउठनी एकादशी, देशभरका नारायण मन्दिरमा विशेष पूजा र मेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैँ । कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।

यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

आषाढ शुक्ल एकादशी (हरिशयनी)का दिनबाट चार महिनाको लागि सुतेका विष्णु भगवान् आजकै दिन अर्थात कार्तिक शुक्ल एकादशी(हरिबोधनी)का दिन योगनिद्राबाट जाग्छन् भन्ने विश्वास रहेको छ । भगवान् विष्णु योग निन्द्राबाट उठेको दिन भएकोले आजको दिनलाई देवउठनी पनि भनिन्छ । विष्णु क्षीर सागरमा सुतेका बेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताको आधारमा चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश तथा अन्य शुभ कार्यहरू गरिँदैन । आजको दिन पछि भने माङ्गलिक कार्यको लागि शुभ मुहूर्त रहेको पाइन्छ ।

चारमहिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रूप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतीकको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

दिवङ्गत भएका पितृको नाममा आज खोलामा फूल तार्ने पनि प्रचलन रहेको छ । हातमा फूल लिएर पितृभ्य स्वधा नमः मन्त्रको उच्चारण गरी यस एकादशी व्रतको पुण्य मेरो पितृहरूलाई समर्पित गर्दछु भन्नुपर्दछ । यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरूलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ ।

श्रीहरिलाई जगाए पछि उनको षोडशोपचार विधिले पूजा गर्नुपर्छ । अनेक प्रकारका फलका साथै नैवेद्य (भोग) निवेदित गर्नुपर्छ । सम्भव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम सङ्कीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसन्न हुने गन्छन् । विवाहादि समस्त माङ्गलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर सङ्कल्प गर्ने चलन रहेको छ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबन्ध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ । त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनःप्रारम्भ हुन्छ।

पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी–माहात्म्यका अनुसार श्रीहरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत् लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जे जस्तो जप–तप, स्नान–दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन् । देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन रहेको छ ।

पूजा विधि

बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने

भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।

नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने

दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।

राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।

भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।

एक पटक भगवान् नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ ! अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ । अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस् । यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु ।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो–‘देवी’ ! तिमीले ठीक भन्यौ । म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ । तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुँदैन । त्यसैले, तिम्रो आग्रह अनुसार आजदेखि म हरेक वर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु । त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ । मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ । यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ । यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन् तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन् तिनको घरमा तिमीसमेत म निवास गर्नेछु । भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदंग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।

त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।

उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।

हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।

यसै सन्दर्भमा जालन्धर नामक असुरकी पत्नी वृन्दा पतिव्रता स्त्री थिइन् । उनलाई भगवान् शिवको आशीर्वाद प्राप्त थियो जबसम्म उनको पतिव्रता व्रत भङ्ग हुँदैन उनको पति जालन्धर जीवित रहनेछ । जालन्धर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान् विष्णुले जालन्धरको वेश धारण गरी वृन्दाका कक्षमा प्रवेश गरे तर उनलाई वृन्दाले चिन्न सकिनन् र उनको पतिव्रत भङ्ग भयो । वृन्दाको पतिव्रत भङ्ग भएपछि जालन्धर मारियो ।

विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाइन, तिनले विष्णुलाई श्राप दिइन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादान गरे सरह फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार