इटहरी । स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उद्घाटन खेलमा दमक एकेडेमी फुटबल क्लबले विजयी सुरूआत गरेको छ । कोशी प्रदेशस्तरीय प्रतियोगिताको बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो भएको उद्घाटन खेलमा दमक एकेडेमीले न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरूआत गरेको हो ।
दमकका लागि खेलको १५ औँ मिनेटमा एनोस मगरले निर्णायक गोल गरे । खेल अवधिभर दुवै टिमबाट गोल नभएपछि उक्त गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच उनै मगर घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले बल रेफ्रीलाई हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । कोशी प्रदेशमै इटहरी उपमहानगरले खेल क्षेत्रको लागि सबैभन्दा बढी महत्व दिएको उनको भनाइ छ ।
‘संसारको मन जितेको फुटबल खेललाई इटहरी उपमहानगरपालिकाले विशेष महत्व दिएको छ । इटहरीलाई खेलकुदको हब बनाउनका निम्ति विद्यालय क्षेत्रबाटै खेललाई जोड्न आवश्यक छ,’ नगर प्रमुख पौडेलले भने, ‘खेलकुदमा थप बजेट छुट्याउनका निम्ति अर्को वर्ष हामीले चासो दिन्छौँ । इटहरीमा एक वा दुई मात्रै होइन, थुपै्र प्रतियोगिताहरू हुन आवश्यक छ ।’
आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउने उनले बताए ।
अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।
प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।
प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए ।
खेल तालिका अनुसार शुक्रबार आयोजक द योङ ब्रदर्श क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन १९ गते लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, चौथो दिन माघ २० गते गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।
माघ १७ र १९ गतेका विजेता टिमले माघ २१ गते पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने माघ १८ र २० गतेका विजेता टिमले माघ २२ गते अन्तिम सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्लो वर्ष भएको प्रतियोगितामा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले उपाधि जितेको थियो । माघ २४ गते फाइनल खेल हुनेछ ।
साथै, उद्घाटन खेलको अवसर पारेर क्लबका संस्थापक अध्यक्ष, संस्थापक सदस्यहरू, पूर्व अध्यक्षहरूलाई सम्मानसमेत गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया