माघ २८, २०८१ सोमबार February 10, 2025

क्यानले सम्झाैता नवीकरण नगरेपछि प्रशिक्षक माेन्टीले दिए धन्यवाद

‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’’- प्रशिक्षक मोन्टी देसाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ २० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

क्यानले शनिबार साँझ विज्ञप्ति जारी गर्दै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने घोषणा गरेको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा मोन्टीले दुई वर्षमा नेपाली क्रिकेटलाई ठूलो सफलता दिलाएको र उहाँको योगदानप्रति धन्यावाद दिएको थियो ।

क्यानले सम्झौता नवीकरण नगर्ने भएपछि प्रशिक्षक मोन्टीले सामाजिक सञ्जालमार्फत नेपालीलाई धन्यवाद दिनुभएको छ । आइतबार उहाँले सामाजिक सञ्जालमम लेख्नुभएको छ, ‘‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’’

उहाँले सन् २०२३ जनवरी १० मा क्यानले दिएको अवसरलाई नेपाली क्रिकेटमा स्थायी प्रभाव पार्ने तथा नयाँ कथा बनाउने आशा र उद्देश्यका साथ आफूले अज्ञात यात्रा तय गरेको पनि उल्लेख गर्नुभएको छ ।

मोन्टीले आफ्नो दुईवर्षे कार्यकाल अविस्मरणीय रहेको र ऐतिहासिक उपलब्धिले भरिएको क्षणको स्मरणसमेत गर्नुभएको छ । उहाँले त्रिवि मैदानमा नेपालले एसिया कप छनोट खेल्दा रुखमा चढेर र छातामुनि उभिएर समर्थन गरेको क्षण र मूलपानी मैदानमा नेपाल विश्वकप छनोट हुँदा दर्शकको भीडले दिएको उर्जा सधैं अविस्मरणीय रहेको पनि बताउनुभएको छ ।

नेपाली क्रिकेटको आरोह–अवरोहबिच क्यान व्यवस्थापन, खेलाडी, खेलाडी छनोट समिति, क्यान पदाधिकारी, प्रशिक्षक, स्कोरर, ग्राउन्डसम्यान, क्यामराम्यान, कमेन्टेटर साथै कप्तान रोहित पौडेलसँग आफूले सानो भूमिका दिन सकेकोमा कृतज्ञ रहेको बताउनुभएको छ ।

मोन्टीले नेपालका अटुट क्रिकेट समर्थक नेपाली क्रिकेटको सबैभन्दा बलियो पक्ष रहेको उल्लेख गर्दै नेपाली टोलीलाई निरन्तर विश्वास गरिरहन आग्रह गर्नुभएको छ । उहाँले नेपाल आफ्नो दोस्रो घर बनेको उल्लेख गर्दै क्रिकेट केवल खेल मात्र नभएर भावना भएको र यसले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने उल्लेख गर्दै जय नेपाल लेखेर आफ्नो भनाइ टुङ्ग्याउनुभएको छ ।

माेन्टीको प्रशिक्षणमा नेपालले आईसिसी लिग–२ को पछिल्ला १२ खेलमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो । त्योभन्दा बढी नेपाल १० वर्ष पछि आईसिसी टी–२० विश्वकपमा छनोट हुँदै विश्वकप खेलेको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । यस्तै नेपाल एसिया कपमा छनोट हुन नसके पनि मोन्टीको प्रशिक्षण काल नेपाली क्रिकेटका लागि उत्कृष्ट बन्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया