माघ २८, २०८१ सोमबार February 10, 2025

पाथीभरा केबलकार विवाद समाधान गर्न आन्दोलनरत पक्षसँग छलफल सुरु

आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्ने शर्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (कुक्लुक्क) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ ।

यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको छ । “काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ”, सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले भन्नुभयो ।

गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले कुक्लुक्क (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दल सम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।

आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शङ्कर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया