चैत्र २, २०८१ शनिबार March 15, 2025

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति निकालेर बिहीबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा थियो । स्थानीय तहमा रिक्त रहेका ४४ पदका लागि गत १६ मंसिरमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गरिएको आयोगले जनाएको छ ।

कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवेदन दिन सक्छन् ।

यसका लागि आवश्यक प्रमाण सहित आयोगको वेवसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सकिन्छ ।

त्यस्तो व्यक्तिको नाम र स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत प्रविष्ट गर्नुपर्दछ ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउन सक्छन् ।

मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आवेदन दिन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया