काठमाण्डौंः धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरिएको छ ।
आज संविधान सभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो ।
‘ ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ५१ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ ।
भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेना गृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुने छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको राजदूतावासले बताएको छ ।
स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्ने बताइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको राजदूतावासले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया