असार २६, २०८२ बिहिबार July 10, 2025

बिना स्वीकृति चलाइएका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

अधिकांश अस्पताल प्रालिमा दर्ता भए पनि अस्पताल सेवा सञ्चालन स्वीकृति नलिएको भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसङ्ख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिईकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले शनिबार अनुगमन गरेका निजी अस्पतालमा जीवन ज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालि, सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालि छन् ।

मुख्यमन्त्री सिंहले अनधिकृत तवरले खेलिएका ती अस्पताल र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी सर्त पुरा गरेको अवस्थामा नदेखिएका अस्पताललाई अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन सञ्चालकहरूलाई भनेका छन् । उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।

अनुगमनका क्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने, ‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोली परिचालन गरेरै बन्द गराउनेछौँ ।’

मुख्यमन्त्री सिंहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए । उनले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातलगायत दस्ताबेज, मापदण्डअनुसार जनशक्तिको सङ्ख्यात्मक उपलब्धता र खटनपटन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता र गुणस्तर र भौतिक संरचनाबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्रीको अनुगमन टोलीमा प्रदेश सरकारका मुख्यसचिव मदन भुजेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी थिए ।

अनुगमन टोलीका सदस्य एवम् जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार इमरजेन्सी, फार्मेसी, बहिरङ्ग तथा अन्तरङ्ग कक्ष, ल्याब, एकसरे, प्रसूति कक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रिया लगायत विषयमा अनुगमन गरिएको जानकारी दिए ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले अनुगमन भएका मध्ये केही अस्पतालसँग अस्पतालले सेवा सञ्चालन स्वीकृति विभिन्न तहका सरकारबाट प्राप्त गरे पनि नवीकरण नगराएका, अधिकांश अस्पताल प्रालिमा दर्ता भए पनि अस्पताल सेवा सञ्चालन स्वीकृति नलिएका, जस्वास्थ्य नियमावलीले तोकिएका मापदण्डअनुसार अधिकांश अस्पतालमा भौतिक संरचना नरहेका, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाटै अस्पताल फार्मेसी सञ्चालन भएका, धेरैजसो अस्पतालमा एकाधबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी नभेटिएका देखिएको जानकारी दिए ।

यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार मध्यरात जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी अस्पताल सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएका थिए । अस्पताल सञ्चालकले शनिबार मुस्कान अस्पताललाई बन्द गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार