चैत्र २, २०८१ शनिबार March 15, 2025

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री

स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गराएको उहाँले बताउनुभयो ।

“नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “यस्तै सङ्घसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पुर्‍याउँछौँ ।”

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्रीले बताउनुभयो । साथै उहाँले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको बताउनुभयो । विधेयकका कमीकमजोरी संसद्मा सच्याउन सकिने भन्दै उहाँले चित्त नबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया