काठमाण्डाैंः शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।
कोभिड-१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह गरेको हो ।
इकाइ काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सुरेन्द्रप्रसाद भट्टले नेपाल सरकार भदौ १ गतेदेखि मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउनेसम्बन्धी निर्णय भएकामा जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले विद्यालय खोलेर कक्षा सञ्चालन नर्गन आग्रह गरेको बताउनुभयो ।
“निर्देशिका अनुसार उहाँहरुले अनलाइन र वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरणलाई निरन्तरता दिन सकिन्छ तर विद्यालय नै खोलेर कक्षाकोठामा भीड जम्मा गरेर कक्षा सञ्चालन गर्न पाइँदैन”, उहाँले भन्नुभयो । त्यसका लागि स्थानीय तहले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आवश्यक निर्देशन गरी विद्यालय खोलेर कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई बन्द गर्न इकाइले आग्रहसमेत गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया