चैत्र २, २०८१ शनिबार March 15, 2025

‘फोर नेसन्स कप’ : कीर्गिस्तानमाथि नेपालको कठिन जित

चार टिम सम्मिलित प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन ५ गते । नेपालले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बन्नुभयो । खेलको सुरुवात देखि आक्रामक प्रदर्शन गरेपनि नेपालको फिनिसिङ पक्ष कमजोर बन्यो ।

नेपालले १०औँ मिनेटमा विमलाको गोलमा अग्रता लिएको थियो । विमलाले सविता रानामगरको लामो पासमा गरेको हेडगोल नेपालको जितमा प्रयाप्त बन्यो । नेपालले खेलको अन्तिमसम्म लगातार अवसर बनाएपनि थप गोल गर्न भने सकेन । यस्तै नेपालको तुलनामा केही कमजोर देखिएको कीर्गिस्तानले पनि गोलको अवसर गुमाएको थियो ।

कीर्गिस्तानले इन्जुरी समयमा डिबक्स छेउमा पाएको फ्रिकिक प्रहार पोस्ट्माथि हुईकिएको थियो । यस खेलमा दोस्रो रोजाईमा रहनुभएकी नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ दोस्रो हाफमा विमला विकको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ । कीर्गिस्तानले हारबाट प्रतियोगिता सुरुवात गरेको छ । चार टिम सम्मिलित प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ ।

यसअघि सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हराएको थियो । म्यानमारको जितमा विन थेन्गीथुनले ५६औँ, स्वेय यी टुनले ७२औँ र म्याट नोय खिनाले ७५औँ मिनेटमा गोल गर्नुभयो ।

लेबनानकी लैजा स्कन्डरले ६०औँ मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो । पहिलो जितसँगै म्यानमारले पनि तीन अङ्क बनाएको छ । नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग खेल्नेछ ।

लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ र फिफा महिला विश्वकप–२०२७ को छनोट तयारीको रूपमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया