चैत्र २, २०८१ शनिबार March 15, 2025

भद्रपुर झापा गोल्डकप : नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा)। मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी हुने भएका छन्। यही फागुन ७ देखि फागुन १६ गते मेची रंगशालामा प्रतियोगिताका खेल हुँदैछन्।

सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको बताए। दर्शकले क्वाटरफाइनलसम्मका खेल हेर्न रु दुई सय, सेमिफाइनलमा रु तीन सय र फाइनलका लागि बाँसको अस्थायी प्याराफिटमा रु तीन सय तथा पक्की प्याराफिटका लागि रु पाँच सय टिकट दर कायम गरिएको उनले जानकारी दिए।

प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा ११ गरी सात नेपाली टोली सहभागी हुँदैछन्। यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको काउर्न बजार प्रगति संघ गरी तीन विदेशी टोली सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदियमान खेलाडी र प्रशिक्षकले नगद रु २५ हजार प्राप्त गर्ने छन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार नगद पुरुस्कार प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ७८ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष ढकालले जानकारी दिए।

यसैगरी, प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट एक थान टिभिएस मोटरसाइकल तथा अर्का एकजना दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट प्राप्त एक थान सुनको सिक्री उपहार प्रदान गरिनेछ। यस्तै, प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले चाँदीको सिक्काको व्यवस्था गरेको जानकारी दिएका छन् । फाइनलकै दिन पाँचजना दर्शकले एक/एकवटा स्प्रे ट्यांकी प्राप्त गर्ने छन् ।

प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ कायम गरिएको छ ।प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया