असार २४, २०८२ मंगलबार July 8, 2025

अगष्ट ६ र ९ बिश्वमा आततायी कालो दिनको रुपमा अंकित – लोकनारायण सुबेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिश्व इतिहासमा दोश्रो बिश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ को दिन मानबताका बिरुद्ध पहिलो पटक जापानमाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको अत्यन्तै कालो दिनको रुपमा अंकित छ । त्यही दिन हो बीसौ शताब्दीको बिश्वमा मानिसलाई नराम्रोसँग आणबिक घाउ लागेको दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरोशिामा शहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेर कालकलबित भएका थिए ।

आजभन्दा ७५ बर्ष पहिला अगष्ट महिनाका ती दुइ दिन मानबताको इतिहासमा कलंक र मानबता बिरोधी आततायी कालो दिनको रुपमा बिश्वले देख्नु र भोग्नु पर्यो । वास्तवमा घना मानब बस्तीमा परमाणु बम जस्तो अत्यन्तै घातक र खतरनाक हतियार प्रयोग गरिएको थियो । त्यसैले ती अगष्ट ६ र ९ दिनले अमेरिका र जापान बीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणबिक तथा परमाणिबिक शस्त्रास्त्र मानब सभ्यता, सँस्कृत र मानब जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछ ती दुइ दिनको बिर्सन नसकिने दुर्दान्त घटनाले । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरोशिमा शहर त्यतिबेला तहसनहस बनेर खरानीमा परिणत भएको थियो ।

क्षणभरमै तत्काल १ लाख मानिस एकै निमेषमा कालकलिबत भएका थिए भने त्यसको असरले हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि अगष्ट ९ का दिन जापानको अर्को शहर नागाशाकीमा अर्को आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५०औ हजार निर्दोष मानिसहरु कालकलबित भएका थिए । त्यस अमानबीय र कहालीलाग्दो आततायी आणबिक प्रहार यता जापानले युद्धका घाउहरु र जापानी जनताको घोर अपमानलाई पुर्दै ठूलो प्रगति गरेको छ । तर अझै पनि जापानमा अमेरिकी सैनिक अखडा त्यही बेलादेखि राखिएको छ । यद्यपि हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय शान्ति पार्कको रुपमा कायम गरिएको छ । बर्षेनी जापानीहरु त्यहाँ त्यो  क्रुर आणबिक युद्धमा मारिएका पूर्खाहरुको सम्झनामा प्रार्थन गर्न र आणबिक शस्त्रास्त्रको बिरोध गर्न जाने गर्दछन् हिरोेशिमा दिवसका दिन !

वास्तवमा ६ अगष्टका दिन अमेरिकाको फाइटर बिमा बी-२९ ले जमिनको सतहदेखि झण्डै ३१००० फीटको उच्चाई माथिबाट हिरोशिमा शहरमा परमाणु बम खसालेको थियो । त्यतिबेला हिरोशिमा शहरका मानिसलाई त्यो परमाण बम बिस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ जस्तो भयो । हेर्दा हेर्दै लाखौ लाख मानिस धुवाँसँग बिलाए । हुन पनि आजभन्दा ७५ बर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानब इतिहासको सबैभन्दा क्रुर घटनामा दरिन पुगेको छ । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर त्यो ‘सानो केटा’ले जापान र मानबताको इतिहासलाई अत्यन्तै ठूलो र गहिरो चोट लगायो ।

क्रूरता र तासदीको प्रतीक त्यो बम दोश्रो बिश्व युद्धको क्रममा अमेरिकाको मेनहटन प्रोजेक्ट अन्तरगत लासअलामोशमा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम तौलको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास(गोलाई) ७१ सेण्टिमिटर सम्मको थियो । त्यस बलमे आफ्नो बिस्फोटक क्षमता यूरेनियम – २३५ को न्यूक्लियर फिशन प्रोसेस-जसलाई ‘नाभिकीय बिखण्डन प्रकृया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको बिध्वंशक क्षमता १३-१८ किलोटन टीएनटी (ट्राइनाइट्रोटालुइन) बराबरको रहेको बताइन्छ ।

अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य तथ्य बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज अनुमानमा पनि बिबाद नै छ । तर हिरोशिमा शहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको थियो । त्यो जनसंखया मध्ये आधाभन्दा केही कम अर्थात १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृृृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस ‘फ्याट म्ँयान’ अर्थात् ‘मोटो मान्छे’ नामको परमाणु बमद्वारा मारिएका अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडिएशन फैलिएका कारणले हजार जापानीहरु बिकलाङ्ग भएका र मारिएका थिए । जापानमा खसालिएका ती आणबिक बमहरुले गर्भबती महिलाहरुको गर्भमा रहेका बच्चाहरु समेतलाई असर पारेको र ती जन्मदै असमान्य किसिमले बिकलाङ्ग हुनपुगेको समेत तथ्य छ ।

यो अमानबीय परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने निर्णय अमेरिकाले त्यतिबेला जुन गरेको थियो त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफीसम्म पनि मागेको छैन । त्यसलाई सही नै ठहराएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले केही बर्ष अघि हिरोशिामा परमाणु बम खसालेको ७० बर्ष पछि गरेका हुन् ।

यद्यपि अहिले बिश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुबमा उभ्भिएका छन् । तर इतिहाले अगष्ट ६ र ९ मा जापानमाथि खसालिउको परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानब इतिहासको एउटा कालो दिनकै रुपमा भने लिइराख्ने छ । अनि बिश्व मानब समुदायले यस्ता अत्यन्तै त्रासद मानब संहारकारी आणबिक परमाणबिक शस्त्रास्त्रको सामना गर्नु नपरोस् र दीगो शान्ति बिश्वमा छाओस् भन्ने कामना गरिरहेका छन् । लेखक ऋषि कट्टेल नेतृत्वको नेकपा पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया