असार २५, २०८२ बुधबार July 9, 2025

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले

डा. काफ्ले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलका सदस्यसमेत हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गरेको थियो।

समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले परेका थिए।

डा. रघुराज काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितात्मक जिल्ला विकास कार्यक्रम तथा संयुक्त राष्ट्रसंघीय बालकोषको महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रमलगायतका विकास साझेदारका परियोजनाहरूमा जिल्ला टोली नेताको रूपमा कार्य गरेको अनुभव छ। उनले समुदाय, स्थानीय तह, र जिल्ला तहको वास्तविक विकासमा विशेष योगदान दिएका छन्। गरिबी निवारण, उद्यम तथा रोजगारी प्रवर्द्धन, सामाजिक सशक्तीकरण, बाल विकास तथा महिला सहभागिता वृद्धिमा उनले विशेष दखल राख्ने गर्छन्।

डा. काफ्ले चार वर्ष वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख रहे। उनले सुरक्षित, व्यवस्थित, र मर्यादित वैदेशिक रोजगारका लागि महत्वपूर्ण भूमिका निभाए। कल्याणकारी कोषमा चार गुणा वृद्धि गर्दै राहत, बिमा, गम्भीर रोग उपचार, छात्रवृत्ति र आवासीय अध्ययनका लागि नयाँ कार्यक्रम ल्याए।

उनले श्रमिक तालिममा सुधार गर्दै सार्कस्तरीय साझा प्रतिबद्धता निर्माणमा योगदान दिए। विभिन्न मुलुकसँग श्रम सम्झौता, राष्ट्रिय रोजगार नीति तर्जुमा, वैदेशिक रोजगार ऐन संशोधन र सामाजिक सुरक्षा ऐन मस्यौदा निर्माणमा समेत नेतृत्व गरे।

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षका रूपमा १९ महिना कार्यरत रहँदा उनले योजना तर्जुमा, नीति निर्माण, बजेट तर्जुमा, अनुगमन तथा विकास कार्यहरूको समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग आबद्ध रही परियोजना डिजाइन, मूल्याङ्कन, नीति विश्लेषण जस्ता कार्यमा निरन्तर संलग्न रहँदै आएका छन्। साथै, उनले करिब १२ वर्ष विभिन्न क्याम्पसहरूमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई अर्थशास्त्र तथा अनुसन्धान विषय अध्यापन गराएका छन्।

डा. काफ्ले लामो समयदेखि प्रदेश, संघ र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य गर्दै नीति निर्माणमा संलग्न रहँदै आएका छन्। उनले स्रोत परिचालन, समन्वय तथा सहकार्यमा विशेष दखल राख्छन्। नेपाल सरकारका नीति निर्माण प्रक्रियामा लामो समयदेखि संलग्न रहँदै आएका उनले सधैँ नीति निर्माण र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्।

डा. काफ्ले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलका सदस्यसमेत हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार