बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

देश संकटोन्मुख हुँदा सधैं नेपाली कांग्रेसले अग्रपंक्तिमा रहेर काम गरेकोे उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उनले त्यो परिस्थितिको उपज भएको बताए ।

देश संकटोन्मुख हुँदा सधैं नेपाली कांग्रेसले अग्रपंक्तिमा रहेर काम गरेको उल्लेख गर्दै उनले संकटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको बताए । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उनले जोड दिए । उनले कम बोल्ने र अधिक काम गर्ने समय भएको समेत बताए ।

फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट गरे । राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उनको जोड थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया