बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

पीएम कप : त्रिभुवन आर्मी क्लबको लगातार चौथो जित

२ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ ।

आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोसी प्रदेशलाई ७ विकेटले हराएको हो । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा ओपनर तृतराज दासले नकआउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । यस्तै, बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारी २७ रन बनाए । कोशिका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भूपाल लुइँटेलले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कोसीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो । कोशिका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । यस्तै, सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे । आर्मीका लागि सोम पाल कामीले ४, साहब आलम र आकाश चन्दले समान २–२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अङ्कमा रहेको छ । खेलेका सबै चारै खेलमा पराजित कोसी अङ्कतालिकाको पुछारमा छ ।

यस्तै, शनिवारै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा साबिक विजेता नेपाल पुलिस क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दियो । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेस प्रदेशलाई १ सय ९३ रनले हरायो ।

टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६३, आरिफ शेखले ५५, अर्जुन साउदले ४७, दिलीप नाथले ४५ र  शङ्कर रानाले २७ रन बनाए । मदेसका रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेस २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो । मदेसका लागि दीपेश दासले सर्वाधिक ३१ र रुपेश सिंहले १६ रन बनाए ।

पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । जितसँगै पुलिस अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेसको ३ खेलमा २ अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया