कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज रमजान मुबारक समापन हुँदै

एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् ।

एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने परम्परा रहेको विराटनगर महमानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरले जानकारी दिए ।

रमजान उर्दू पात्रोअनुसार हिजरी संवत्को नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको होभने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन रहेको हैदरले बताए ।

‘शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खालगायत हानिकारक खाद्यपदार्थ खाने बानीमा परिवर्तन आउँछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन’, उनले भने ।

सुख, शान्ति र समृद्धिका ‘एत्तकाब’

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २०औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिनालाई तीन भागमा विभाजित गरी यो पर्व मनाइन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजापछि सुरु हुने तेस्रो आसरा नर्कबाट मुक्ति’ प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने चलन रहेको प्रधानाध्यापक हैदरले बताए ।

उनकाअनुसार एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुुख, शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो । एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र, व्यापार तथा अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता रहेको बताउँदै यसलाई रोजा मान्ने मुसलमानहरूले अहिलेसम्म पछ्याइरहेको बताए ।

इदउलफित्र

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २९औँ दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने तयारी गरिरहेका छन् । ‘इदउलफित्र’को दिन कोही मस्जिदमा, कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न मिष्ठान्न परिकार खाने गर्छन् । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात्  ‘इदउलअजहा’ पर्व मनाउने गर्छन् । यसमा आर्थिक अवस्था बलियो भएका अधिकांश मुस्लिम ‘हज’का लागि साउदी अरबको मक्कामदिना जाने गर्छन् ।

फितरा र जकात

रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो ७५० ग्राम गहुँको  मूल्य बराबर फित्तराका रूपमा निकाल्नु पर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला) मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’को नमाज पढ्नुभन्दा पहिले निकाली सक्नुपर्ने बताउँदै प्रधानाध्यापक हैदरले यसपछि मात्रै उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ । उनकाअनुसार जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नु पर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरूमा लागू हुन्छ ।

तराबी नमाज

रमजान महिनामा मुस्लिमले नियमित रूपमा दिनमा पाँचपटक पढ्ने नमाजसँगै तराबी नमाज (विशेष नमाज) पढ्ने गर्छन् । तराबी नमाज धार्मिकग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लो दिनदेखि तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरूले उपहार दिने चलन छ ।

अनुभव

इटहरी इन्टरनेसनल कलेजमा आइटी प्रथम वर्षमा अध्ययनरत २० वर्षीय मोहम्मद अर्ज अलीले रोजा बस्दा मुस्लिम भएको गर्व महसुस हुने गरेको बताए । उनले लगभग १६ घण्टा निराहर बस्नुपर्ने यो पर्वमा रोजा बस्दा कष्ट भएपनि जीवनमा आनन्द प्राप्त भएको भन्दै आफूले ११ वर्षको उमेरदेखि नियमित व्रत पूरा गर्दै आएको जानकारी दिए । उनले ‘संजोगले यो वर्ष म घर बाहिर भएकाले तराबी नमाज पढ्न असर्थ रहेँ’, उनले भने ।

मोरङ बूढीगङ्गा गाउँपालिकाको पोठिया निवासी १० वर्षीया फातिमा हविवाले गत वर्षसँगै यस वर्ष पनि रोजा बसेको सुनाईन् । रोजा बस्दा भोक लागेको अनुभव नभएको भन्दै उनले तिर्खा धेरै लाग्ने गरेको बताईने । आफेना बुबा हाफिज र मौलान दुवै भएको र सधैँ घरमा कुरान पाठ गर्ने गरेको बताउँदै अरबी भाषामा भएको र यसको  अर्थ आफूले नबुझे पनि मुस्लिमले पढ्नुपर्ने ग्रन्थ भएको बुबा सलमान मिफताहीले सुनाए ।

इदको दिन नयाँ लुगा लगाउने र समुदायमा पाक्ने परिकारका बास्नाले झन् रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारले बताए । ‘इदको दिन आममानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भनी अल्लाहसँग प्रार्थना पनि गर्छौँ”, उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार