काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको छ ।
थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भोलि (शुक्रबार) अपरान्ह ४ बजे भेटवार्ता तय भएको बताइएको छ ।
‘भेटवार्ताको डेट र टाइम फिक्स भएर बाहिर आइसकेको छ । भोलि (शुक्रबार) नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइड लाइन मिटिङ हुन्छ,’– नेकपा (एमाले) का नेता एवं विदेश मामिलाका जानकार डा.राजन भट्टराईले भने ।
प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक गएका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा।युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।
ओली प्रधानमन्त्री बनेको ९ महिना बितिसक्दा पनि छिमेकी मुलुक भारतले उनलाई भ्रमणको निम्तो दिएको छैन । यसअघि ओली र मोदीबीच संयुक्त राष्ट्रसंघको सम्मेलनमा साइडलाइन मिटिङ भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया