असार २१, २०८२ शनिबार July 5, 2025

५ वर्षमा ४२ हजार नेपालीले पाए अमेरिकाको ग्रिन कार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकामा कानुनी रूपमा स्थायी बसोबासका लागि निकै महत्त्वपूर्ण मानिने ग्रिन कार्ड (पर्मानेन्ट रेसिडेन्ट कार्ड) पाउने नेपालीको संख्या बर्सेनि बढ्दो छ ।

अध्यागमनको कानुनी प्रक्रियासम्बन्धी अध्ययन गर्ने सरकारी निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को तथ्यांकअनुसार सन् २०१९ देखि २०२३ सम्म ४२ हजार ३ सय ५७ जनाले अमेरिकामा कानुनी प्रक्रिया पूरा गरेर स्थायी बसोबास गर्न सकिने आधिकारिक अनुमतिपत्रका रूपमा लिइने ग्रिन कार्ड पाएका छन् ।

डाइभर्सिटी भिसा (डीभी लोटरी), रोजगार, असाइलम, एक्स्ट्रा अर्डिनरीका आधारमा अधिकांश नेपालीले ग्रिन कार्ड पाएका हुन् । डीभी लोटरीबाट डीभी, रोजगारका आधारमा पाउने एचवानबी र एक्स्ट्रा अर्डिनरी भिसाका आधारमा ईभी उल्लेख गरेर ग्रिन कार्ड उपलब्ध गराउने होमल्यान्ड सेक्युरिटीले उल्लेख गरेको छ । २०१९ मा १० हजार २ सय १, २०२० मा ७ हजार ८ सय ४७, २०२१ मा ७ हजार ३ सय ९, २०२२ मा ८ हजार र २०२३ मा ९ हजार नेपालीले ग्रिन कार्ड पाएको तथ्यांकमा उल्लेख छ । २०२४ देखि हालसम्मको तथ्यांक भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

पाँच वर्ष अवधिमा ४२ हजार ३ सय ५७ जना नेपालीले अमेरिकामा कानुनी प्रक्रिया पूरा गरेर स्थायी बसोबासको अनुमति पाउँदा सोही अवधिमा गैरकानुनी रूपमा बसोबास गरेको आधारमा ३ सय २४ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । अमेरिकी सुरक्षा संस्था, इमिग्रेसन एन्ड कस्टम इन्कोर्समेन्ट (आईसीई) को तथ्यांकमा २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ लाई अमेरिकाबाट निष्कासन गरिएको उल्लेख छ । २०१९ देखि २०२३ को पाँच वर्ष अवधिमा अमेरिकाले २९ लाख ३१ हजार २ सय ६० वटा ग्रिन कार्ड जारी गरेको होमल्यान्ड सेक्युरिटीले जनाएको छ ।

यो अवधिमा ग्रिन कार्ड पाउनेमा अफ्रिका, एसिया, युरोप, नर्थ अमेरिकाका आप्रवासी अधिक छन् । तथ्यांकअनुसार एसियाका २०२१ मा २ लाख ९५ हजार ३ सय १०, २०२२ मा ४ लाख १४ हजार ९ सय ५०, २०२३ मा ४ लाख १८ हजार ९ सय ३०, अफ्रिकाका २०२१ मा ६६ हजार २ सय १०, २०२२ मा ८९ हजार ६ सय ७०, २०२३ मा १ लाख ५ हजार ५ सय ५० तथा युरोपका २०२१ मा ६१ हजार ५ सय २०, २०२२ मा ७५ हजार ६ सय १०, २०२३ मा ८० हजार २ सय ८० ले ग्रिन कार्ड पाएका थिए ।

यसैगरी २०२१ मा २ लाख ४० हजार ४ सय ४०, २०२२ मा ३ लाख ३२ हजार ६ सय ७० र २०२३ मा ४ लाख ५० हजार ३ सय १० जना नर्थ अमेरिकी मुलुकका आप्रवासीले ग्रिन कार्ड पाएको तथ्यांक छ । नेपालसँगै मेक्सिको, क्युवा, भारत, डोमेनिकन रिपब्लिकन, चीन, फिलिपिन्स, भियतनाम, अफगानिस्तान, ब्राजिल, एल साल्भाडोर, कोलम्बिया, जमैका, बंगलादेश, भेनेजुएला, निगेरिया, दक्षिण कोरिया, ग्वाटेमाला, हाइटी, होन्डुरस र पेरुका धेरै आप्रवासी ग्रिन कार्ड पाउने सूचीमा छन् । कानुनी प्रक्रिया पूरा गरेपछि अत्यन्त न्यून शुल्क बुझाएर पाइने ग्रिन कार्डलाई कमजोर बनाउन वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्ड कार्डको नीति अघि सारिसकेका छन् ।

विश्वका धनाढ्यलाई व्यवसाय र माथिल्लो स्तरमा रोजगारका लागि स्थायी बासिन्दा बनाउने उद्देश्यले ट्रम्पले ५० लाख अमेरिकी डलर बराबरको गोल्ड कार्ड बिक्रीका लागि राष्ट्रपति ट्रम्प स्वतःर्स्फूत लागि परिरहेका छन् । गत फेब्रुअरी २५ मा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको गोल्ड कार्ड मार्चको तेस्रो सातामा एकै दिन एक हजार जनाले लिइसकेका छन् । अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा एकै दिनमा प्रतिव्यक्तिले ५० लाख डलर तिरेर एक हजार जनाले गोल्ड कार्ड खरिद गर्दा ५ अर्ब अमेरिकी डलर राज्यकोषमा जम्मा भएको दाबी गरेका थिए । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२०८२ असार २०, शुक्रबार
सरकारी मुद्दामा अनिवार्य वकिल प्रतिनिधित्वको तयारीमा महान्यायाधिवक्ताको कार्यालय
२०८२ असार २०, शुक्रबार
प्रधानमन्त्री ओली स्पेन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
२०८२ असार २०, शुक्रबार
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार