काठमाडौँ, १२ वैशाखः प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहित ११ बुँदे प्रस्ताव पारित गरेको छ ।
समसामयिक प्रस्तावहरुमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नु, गराउनु र नगर्ने सञ्चारमाध्यमलाई कानुनी कारवाहीको दायरामा ल्याइ श्रमजीवी पत्रकारहरुको हितलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको हो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति भ्रम र अफवाह फैलाउँदै गरिएको कथित आन्दोलनका नाममा गत २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको अराजक र हिंसात्मक घटनाका साथै सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणप्रति यो बैठक निन्दा गर्दछ”, प्रस्तावमा भनिएको छ, “उक्त घटनाको निष्पक्ष छानिबन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।”
बैठकले पत्रकार आचारसंहिताको पालना गर्दै मुलुकमा जिम्मेवार, व्यवसायिक र सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको विकास, प्रवर्द्धन र स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दै आम पत्रकारहरुलाई यस दिशामा केन्द्रित हुन आह्वान गरेको छ ।
प्रेस चौतारी नेपाल दशौँ महाधिवेशन पछिको केन्द्रीय कमिटी दोस्रो बैठकको उद्घाटन आज नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल गर्नुभएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायतले श्रमजीवी पत्रकारहरुको सङ्गठनले मुलुकको विकास र समृद्धिका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया