जेठ ९, २०८२ शुक्रबार May 23, 2025

महिला टी–२० विश्वकप २०२६ को फाइनल लर्ड्समा, १२ टोली सहभागी हुने

जुन १२ देखि सुरु भई २४ दिनसम्म चल्ने प्रतियोगितामा ३३ वटा खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १८ । सन् २०२६ मा इङ्ग्ल्यान्डको आयोजना रहने आईसीसी महिला टी–२० विश्वकपको फाइनल खेल ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा हुने भएको छ। जुलाई ५ तारिखका दिन हुने फाइनलको स्थान निर्धारण भएसँगै प्रतियोगिताको तयारीले औपचारिक रूप लिएको छ।

विश्वकपका अन्य खेलहरू पनि क्रिकेटको प्रतिष्ठित मैदानहरूमा खेलाइने छन्। ओल्ड ट्राफोर्ड, हेडिङ्ले, एजबास्टन, ह्याम्पशायर बाउल, द ओभल र ब्रिस्टल काउन्टी ग्राउन्ड प्रतियोगिता स्थलका रूपमा तय भएका छन्। प्रतियोगिता जुन १२ देखि सुरु भई २४ दिनसम्म चल्नेछ र यस अवधिमा ३३ वटा खेल हुनेछ।

यो संस्करणमा अहिलेसम्मकै धेरै १२ टोली सहभागी हुनेछन्। आयोजक राष्ट्र इङ्ग्ल्यान्डसहित अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलङ्काले स्वतः छनोटमार्फत स्थान पक्का गरिसकेका छन्। बाँकी ४ टोली भने छनोट प्रतियोगिता मार्फत विश्वकपमा छनोट हुनेछन्।

नेपाल महिला क्रिकेट टोलीले पनि यो छनोट प्रक्रियामा भाग लिँदैछ। यही मे महिनामा हुने एशिया छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपालले विश्वकपको लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको प्रारम्भिक चरणमा १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछ। समूह चरणपछि शीर्ष स्थान हासिल गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् र अन्ततः फाइनल खेल लर्ड्समा हुनेछ।

आईसीसीले महिला क्रिकेटको विकास र विश्वव्यापी पहुँच बढाउन प्रतिस्पर्धा स्तरीय बनाउने प्रयासस्वरूप विश्वकपलाई अझ व्यापक बनाउँदै लगेको संकेत गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया