कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

पछिल्लो समय अधिकांश लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ) । यहाँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् ।

कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि नयाँ पुस्तालाई नाच सिकाउन नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका–९ कुमालगाउँमा एक सातासम्म प्रशिक्षण सञ्चालन गरेको थियो ।

गत वैशाख १५ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षणमा चार टोलीबाट ८० प्रशिक्षार्थी सहभागी भएको समाजका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो ।

जिल्लाभर विभिन्न ठाउँमा बसोबास गर्ने कुमाल समुदायलाई एकैठाउँमा भेला गरी पाउदुरे नाचबारे प्रशिक्षण दिइएको उहाँको भनाइ छ । अध्यक्ष कुमालले भन्नुभयो, “कुमाल समुदायको यो संस्कृति लोप हुन नदिने हाम्रो मुख्य उद्देश्य हो । त्यसैले नयाँ  पुस्तालाई पाउदुरेमा आकर्षित गर्न प्रशिक्षण सञ्चालन दिएका हौँ ।”

पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृति भए भए पनि पछिल्लो समय अधिकांश लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको अध्यक्ष कुमालले बताउनुभयो ।

पाउदुरे नाच यहाँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नाच्ने गरिन्छ । यस नाचको छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव नहुने जानकारहरू बताउँछन् । अध्यक्ष कुमाल भन्नुहुन्छ, “यो नाचका विभिन्न चरण हुने गर्छन् । गीतको मिठास महशुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर  नाच नचाइने गरिन्छ ।”

रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मका गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णबारे गाइन्छ । गीतको शैली फरक फरक भए पनि भाव एउटै हुन्छ ।

प्रशिक्षण समापन कार्यक्रममा व्यास नगर उपप्रमुख इन्दिरा दरैले संस्कार र संस्कृति बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको कला, संस्कृति, रीतिरिवाज संरक्षणमा प्रतिबद्ध छौँ ।”

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका तथा म्याग्दे र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास रहेको छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार सात सय २७ रहेको कुमाल समाज तनहुँले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार