काठमाडौं । हाल नेपालमा भइरहेको पुस्तान्तरणको बहसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी दिनमा देशको राजनीतिक नेतृत्व युवाले नै गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिवर्तन अभियान नेपालद्वारा आयोजित ‘सामाजिक रूपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पौडेलले विगतका राजनीतिक परिवर्तनहरूमा विद्यार्थी र युवाको अग्रणी भूमिका रहँदै आएको स्मरण गर्दै अब नेतृत्व सशक्त युवाहरूले गर्नुपर्ने आवश्यकता औंल्याए।
“म उमेरले कान्छो हुँ, त्यसैले मलाई नेतृत्व चाहियो भनेर हुँदैन। नेतृत्व लिन लायक बन्नु पर्छ,” मन्त्री पौडेलको यो भनाइले नेपाली राजनीति सन्तुलित युवा नेतृत्व खोजिरहेको संकेत गर्छ।
विगतमा आन्दोलनका प्रमुख वाहक विद्यार्थीहरू भए पनि पछिल्लो समय उनीहरूलाई राजनीतिक पार्टीको “अनुशारक” को रूपमा मात्र हेरिने प्रवृत्तिप्रति मन्त्री पौडेलले असन्तुष्टि जनाए। उनले विद्यार्थीहरूलाई सशक्त, सचेत र सुसंगठित रूपमा अघि बढेर क्षमता विस्तार गर्न आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले समेत विद्यार्थीहरूले दलको गलत काममा खबरदारी गर्ने हिम्मत देखाउनुपर्ने बताए। “मातृ पार्टीले गल्ती गर्यो भने पनि डराई–डराई चुप लाग्ने हो भने तपाईंहरूप्रति आम युवाले पनि भरोसा गुमाउँछन्,” मन्त्री काफ्लेले स्पष्ट रूपमा भने।
प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे, कांग्रेस नेता सबुज बाँनिया लगायत वक्ताहरूले समेत विद्यार्थी राजनीतिले नेपालको परिवर्तनमा खेलेको भूमिकालाई स्मरण गरे।
कार्यक्रमका आयोजक संस्था परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले भने, “विद्यार्थी आन्दोलनका बिनामै नेपाली समाजले यस्तो राजनीतिक परिवर्तन देख्न सक्दैनथ्यो। त्यसैले यो योगदानलाई बेवास्ता गर्नु ऐतिहासिक गल्ती हुनेछ।”
नेपालको राजनीतिक इतिहासमा प्रत्येक ठूला मोडहरू – पञ्चायत अन्त्य, बहुदलीय पुनःस्थापना, जनआन्दोलन, गणतन्त्र स्थापनाजस्ता –मा विद्यार्थी आन्दोलनको प्रत्यक्ष भूमिका रहँदै आएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया