श्रावण २०, २०८३ बुधबार August 5, 2026

इलाम नगरपालिकाको घुम्ती शिविरमा नौ महिलाको पाठेघर मुखको क्यान्सर पोजेटिभ

शिविरको आगामी चरण वैशाख २८ गते वडा नं. १० गोदक र २९ गते वडा नं. ११ सोयाकमा सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम, वैशाख २८ गते । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा पुर्‍याउने उद्देश्यले इलाम नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिविरबाट ९ महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ देखिएको छ।

इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालका अनुसार वडा नं. ४ बाट सुरु गरिएको शिविरमा ४२ जना महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिँदा नौ जनामा पोजेटिभ देखिएको हो। शिविर नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो जसमा बहुआयामिक सेवा प्रदान गरिएको थियो।

शिविरमा निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना संकलन, मकैमा लाग्ने फौजी किराको नियन्त्रणका लागि जैविक औषधि वितरण, बाली सम्बन्धी परामर्श, पशु स्वास्थ्य सेवा, सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श लगायतका सेवा उपलब्ध गराइएको थियो।

१२ वर्ष मुनिका बालबालिकाको मुटु परीक्षण, ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता भएका नागरिकलाई रङ्गिन कार्ड वितरण जस्ता कार्यक्रम पनि शिविरमा समावेश गरिएको थियो।

शिविरमा करिब १००० जना नागरिकले सेवा लिएका थिए। त्यसमध्ये १४० जनाको स्वास्थ्य परीक्षण, १०० पशु तथा पन्छीको स्वास्थ्य परीक्षण, २४ वटा माटोको परीक्षण, ९७ जनाले कृषि सेवा, ७२ जनाले जैविक विषादी प्राप्त गरेका थिए।

त्यसैगरी, ९० जनाले आयुर्वेद सेवा, ७२ जनाले वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा, ३ जना अपाङ्गता भएका व्यक्ति, ३ जना गर्भवती महिलाको भिडियो एक्सरे, ४० वटा पशुको गोबर परीक्षण गरिएको जानकारी नगरपालिकाले दिएको छ।

शिविर इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। शिविरमा इलाम अस्पतालका एमडी डा. पुरन्जन थापा र मेडिकल अधिकृत श्रेयस भट्टराईले विशेष स्वास्थ्य सेवा प्रदान गरेका थिए।

शिविरको आगामी चरण वैशाख २८ गते वडा नं. १० गोदक र २९ गते वडा नं. ११ सोयाकमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया