असार १, २०८२ आइतबार June 15, 2025

जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

स्थानीय तहले आर्थिक भार बहन गर्ने र समितिले खेल व्यवस्थापन गर्नेगरी जिल्ला स्तरीय छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, जेठ ३ गते । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्राविधिक तथा व्यवस्थापकीय कारणले अनिश्चितजस्तै बनेको प्रतियोगिता समितिले अन्तिम समयमा सञ्चालन गर्न लागेको हो । जेठको दोस्रो साता प्रदेश र अन्तिम साता राष्ट्रिय स्तरमा प्रतिस्पर्धा हुँदैछ । प्रदेश खेलकुद परिषदको परिपत्रपछि स्थानीय सरकारसँगको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रतियोगिताका लागि बजेटको व्यवस्था नगरेकाले खेल अनिश्चित बनेको थियो । स्थानीय तहले आर्थिक भार बहन गर्ने र समितिले खेल व्यवस्थापन गर्नेगरी जिल्ला स्तरीय छनोट हुन लागेको हो ।

“खेलकुद सञ्चालन नगर्दा राष्ट्रिय स्तरमा पुग्न सक्ने खेलाडीको भविश्य धरापमा पर्ने, सञ्चालन गर्दा बर्खा लागेपछि हिलो र धुलोमा खेल खेलाएको भन्दै आलोचना खेप्नु पर्नेछ”, कँडेलले भन्नुभयो, “हामीले कयौं चुनौतीका बाबजुद खेल सञ्चालन गर्दैछौं ।”

बाङ्गेचौरमा हुने खेलहरुमा झण्डै एक हजार एकसय विद्यार्थी सहभागी हुनेछन् । पालिकास्तरमा छनोट भएका खेलाडीबिच हुने प्रतिस्पर्धाबाट प्रदेश स्तरमा खेल्ने खेलाडी छनोट जिल्लाले गर्नेछ ।

साढे सात लाख रुपियाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि साढे पाँच लाख रुपियाँ स्थानीय तहहरुले व्यहोर्ने र बाँकी चन्दा सहयोगबाट स्रोत जुटाइने समितिका सचिव किशोर थापाले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया