पोखरा । राजधानी काठमाडौंबाहिर पहिलोपल्ट पोखरामा नवौं संस्करणको प्रधानमन्त्री कप एनभिए महिला–पुरुष भलिबल लिग सुरु भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबारदेखि सुरु प्रतियोगिता १५ जेठसम्म चल्नेछ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले भाग लिएका छन् ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब बुटवल छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशका टिमले भाग लिएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।
भलिबलको व्यवसायीकरण र युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले प्रत्येक टिममा ३ जना विदेशी खेलाडी राख्न मिल्ने व्यवस्था गरिएको उनको भनाइ छ । राउण्ड रोबिन लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
दुवैतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागतमा उत्कृष्ट लिबेरो, लिफ्टर, ब्लकर, सर्भर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार साथमा मेडल प्राप्त गर्ने छन् । पुरस्कारमा मात्रै ३२ लाख खर्च हुने आयोजकले जनायो । संघका महासचिव रोशन श्रेष्ठले प्रतियोगिताका लागि करिब ९० लाख खर्च हुने अनुमान रहेको बताए ।
यसअघि, संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबार प्रतियोगिता उद्घाटन गर्दै आगामी बजेट खेलकुदको पूर्वाधार विकास र युवा स्वरोजगारमा केन्द्रित हुने आश्वासन दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ चलिरहँदा यसखालका प्रतियोगिताले खेल पर्यटनमा टेवा मिल्ने बताए ।
नेपाल भलिबल संघका अध्यक्ष चन्दले पोखरामा भलिबलका फ्यान बढी रहेको बताउँदै पहिलोपल्ट पोखरामा ल्याइएको बताए । उनले काभा च्याम्पियनसिप पनि यही गर्ने तयारीमा संघ रहेको जनाए ।
पहिलो दिन महिलातर्फ २ र पुरुषतर्फ ४ खेल भए । महिलातर्फ एपिएफले कर्णालीलाई ३–० र एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मीलाई ३–१ सेटमा हरायो ।
पुरुषतर्फ एपिएफले सुदूरपश्चिमाथि ३–० को सोझो सेटमा जित निकाल्दा टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले आर्मीलाई सोझो सेटमै पाखा लगायो । अर्को खेलमा घरेलु गण्डकी प्रदेश भलिबल एसोसिएसनले कोशी प्रदेश खेलकुद विकास परिषद्लाई ३–१ सेटमा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया