लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल गरेको बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजेको बताउनुभयो । तेस्रो बौद्ध अन्तरराष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतका निकायको सहकार्यमा यात्राको आयोजना गरिएको हो ।
प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।
लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला–महोत्सवको आयोजना, होमस्टे प्रवर्द्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।
“लुम्बिनी प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “टुरिजमले रोजगारी सिर्जना, आर्थिक विकास र नेपालको अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने हाम्रो दृढ विश्वास छ ।”
प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कूल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पु¥याउने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या २२ लाख नाघ्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीलाई आध्यात्मिक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संरचना र सेवा सुविधायुक्त बनाउँदै विश्व शान्तिको सन्देश फैलाउने दिशामा प्रदेश सरकार दृढताका साथ लागिपरेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।
नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवर्द्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तरराष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिको सहभागिता रहेको छ । यस यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्दै, विशेषतः लुम्बिनीलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया