वैशाख २४, २०८१ सोमबार May 6, 2024

रातारात ‘रफ’ लोगो छानियो, मेरो कलाको अवमूल्यन भयो- टेकवीर मुखिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लोगोको डिजाइन दिने प्रक्रिया के थियो ?

लकडाउनका वेलामा संसद् सचिवालयबाट अपर्झट लगाइएको थियो । मलाई लिन गाडी लिएर घरमै आएका थिए । सिंहदरबार पुगेपछि लोगो बनाउनेबारे छलफल भयो । उहाँहरूले भोलि नै लोगोको डिजाइन दिनूस् भन्नुभयो । यति अपर्झट कसरी गर्नु, भ्याइँदैन भनेँ । तर, भोलि बैठक छ जसरी पनि सक्नुपर्छ भन्नुभयो । त्यसपछि म दिनरात खटेर लोगो बनाएँ । मैले दुईवटा डिजाइन बनाएको थियो । त्यसमध्ये एउटा ‘फाइनल’ थियो, अर्कोचाहीँ ‘रफ’ । उहाँहरूले त्यो लिएर जानुभयो । उहाँहरूलाई मैले फाइनल र रफ दुवै डिजाइनबारे बताएको थिएँ । छनोट गर्नुअघि एकपटक भन्नुहोला भनेको थिएँ । उहाँहरूले ‘रफ’ गरेको लोगोचाहीँ छान्नुभएछ । तर, त्यो मलाई देखाउन ल्याउनुभएन ।

लोगो छनोट भएको कसरी थाहा पाउनुभयो ?

पास भएको लोगो देखाउन ल्याउनुभएन । पछि टिभीमा लोगो देखाएपछि पो झस्याङ्ग भएँ । हिजो पनि टिभीमा लोगो देखाएपछि म जिल्ल परेँ । दुई कक्षाका बच्चाले पनि त्योभन्दा राम्रो बनाउँछन् । छानिएको लोगोमा गल्ती छ । त्यस्तो डिजाइन त मेरो हुँदै होइन, सानो बच्चाले गरेकोजस्तो छ । मैले पहिला–पहिला पनि यस्तो डिजाइन गरेको छु । पञ्चायतकालदेखि नै मैले डिजाइन गर्दै आएको हुँ । पञ्चायतकाल, बहुदल, गणतन्त्र आएपछि पनि मैले गर्दै आएको छु । बच्चाले जस्तो काम गर्छु म ? मैले त्यो पैसाका लागि मात्रै गरेको हो र ? होइन नि । मेरो कलाको नै अवमूल्यन भयो ।

सचिवालयमा आपत्ति जनाउनुभएन ?

मैले रफ र फाइनल डिजाइन पठाएको भोलिपल्टजस्तो लाग्छ, साँझ टिभी हेर्दा ‘रफ’चाहीँ पास भएको थाहा पाएँ । भोलिपल्ट मैले सचिवालयमा फोन गरेर ‘रफ’ पास गर्नुभएछ । तर त्यो ल्याइदिनुपर्यो, म फाइनल गरिदिन्छु भनेँ । उताबाट ‘होइन, होइन, त्यो हामीले मिलायौँ, पर्दैन’ भन्ने जवाफ आयो ।

अहिले आएको लोगो तपाईंले नै बनाएको भनेको छ त संसद् सचिवालयले ?

होइन । मैले पठाएको डिजाइन त ‘रफ’ थियो ।

तपाईंले ‘रफ’ बनाएअनुसार लोगो अहिले भयो कि भएन ?

मैले रफ पठाएको र अहिले बनेर आएको लोगोमा पनि आकाश–जमिनको फरक छ । बच्चाले बनाएकोजस्तो गरेको छ । झण्डामा पनि दाग छ । म त यो कुरा त्यहाँको हाकिमलाई हजारचोटी भन्छु । अहिले मान्छेले ‘कम्प्लेन’ गरिरहेका छन् । म हिजो रातभरि सुत्नै सकिनँ । मान्छेले गाली गरिरहेका छन् मलाई । मैले पैसाका लागि होइन, राष्ट्रका लागि गरेको हो । म त पैसा फिर्ता दिन पनि तयार छु ।

लोगो पास गरिसकेपछि तपाईंलाई देखाउनुपथ्र्याे तर देखाएनन् भन्ने गुनासो हो ?

हो । मैले त ‘रफ’ पठाएको थिएँ ।

यो लोगोको ‘स्वामित्व’ लिनुहुन्छ कि लिनुहुन्न ? 

त्यो लोगो त मैले बनाएकै होइन । मेरो नक्कल गरेर बनाएको हो । मेरो डिजाइनलाई उनीहरूले नक्सा खिचेर गरेको हुँदै होइन । मैले बनाएको र त्यो अहिले आएको डिजाइनमा त आकाश जमिन नै फरक छ नि । लोगो बनेर आएपछि पास गर्ने बेलामा मैले गरेको डिजाइन अनुसार पास गर्नुपथ्र्यो । तर, एक त उनीहरूले मलाई ‘रफ’ डिजाइनलाई फाइनल गर्न पनि दिएनन् । अहिलेको लोगो महाभद्दा छ । यो विषयमा म मन्त्री शिवमाया तुम्बाहाङ्फेलाई पनि फोन गर्छु ।

लोगो वितरण भएपछि तपाईंले फोन गर्नुभयो ?

लोगो पास भइसकेपछि मैले त फोन गरिनँ । मेरी श्रीमतीले सचिवालयमा फोन गरिन् । अब यसमा सरको कुरा आउँदैन भनेछन् उनीहरूले । ब्याच बनाउनेले नै खराब गरेको भनेछन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार