काठमाडौँ, जेठ १५ । सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको तलब नबढाउने भए पनि महँगी भत्ता बढाउने निर्णय गरेको छ। बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महँगी भत्ता ५ हजार रुपैयाँ पुर्याइएको जानकारी गराएका हुन्।
अर्थमन्त्री पौडेलका अनुसार, तलब वृद्धि गर्नुपर्ने आवश्यकता सरकारलाई स्पष्ट भए पनि स्रोतको व्यवस्थापन चुनौतीपूर्ण रहेकोले सो सम्भव नभएको हो। तर, महँगीको चाप कम गर्न भत्ता वृद्धि गर्ने निर्णय गरिएको उनले बताए।
“तलब वृद्धिको आवश्यकताको हामीले अनुभूति गरेका छौँ। तर आर्थिक दवाबका कारण अहिले तलब बढाउन सकिने अवस्था छैन,” मन्त्री पौडेलले भने, “तर साउन १ गतेदेखि सबै कर्मचारीलाई पाँच हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराइनेछ।”
यसअघि कर्मचारीहरूले दुई हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका थिए। अब तीन हजार रुपैयाँ थपिएर भत्ता पाँच हजार पुगेको छ।
सामाजिक सुरक्षामा सन्देश
सरकारको यो निर्णयलाई महँगीले थिचिएको कर्मचारी वर्गलाई राहत दिने संकेतका रूपमा हेरिएको छ। यद्यपि तलब यथावत् राखेर भत्ता वृद्धि गर्नुले दीर्घकालीन समाधान नहुने कर्मचारी संगठनहरूको भनाइ छ। उनीहरूले संरचित तलब पुनरावलोकनको आवश्यकता औंल्याउँदै आएका छन्।
बजेटमा नयाँ रोजगारी सिर्जना, विकास खर्च, संघीयता कार्यान्वयन, र सामाजिक सुरक्षाको विस्तार जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया