काठमाडौं, जेठ १८ । काठमाडौं उपत्यकामा हुने विरोध कार्यक्रमहरूलाई सीमित गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ आदेश जारी गरेको छ। अबदेखि आगामी दुई महिनासम्म उपत्यकाका अधिकांश स्थानमा कुनै पनि प्रकारका विरोधका कार्यक्रम-जस्तै अनशन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा—गर्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार आइतबार एक विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रमका लागि कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्र निर्धारण गरेको हो।
प्रशासनले कोटेश्वर आकाशे पुलदेखि दक्षिणतर्फ बालकुमारीसम्मको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौरलाई मात्र प्रदर्शनका लागि अनुमति प्राप्त क्षेत्र घोषणा गरेको छ।
प्रशासनका अनुसार पछिल्लो समय चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा विरोधका कार्यक्रमका कारण अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायातमा गम्भीर असर परेको गुनासोहरू आएपछि यो निर्णय गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक हित र सुरक्षालाई ध्यानमा राखी उक्त आदेश लागू गरिएको हो। उल्लेखित क्षेत्र बाहेक अन्यत्र विरोध कार्यक्रम गरेमा कानुन बमोजिम कारबाही गरिनेछ।”
नयाँ आदेश अनुसार, काठमाडौंमा अबको दुई महिनासम्म अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रमहरू केवल प्रशासनले तोकेको तीन क्षेत्रमा मात्र गर्न पाइनेछ। यस आदेशको उल्लङ्घन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया