भनिन्छ, समयले सबै घाउ निको पार्छ। इतिहासमा धेरै घटना यस्ता छन्, जसबाट सयौं वर्ष मार्गदर्शन हुन्छ। विवेकशील मानिसले अरूको असफलताबाट शिक्षा लिन्छन्। बुद्धिहीनहरू आफैंले चेत्ने गर्छन्। आफूलाई थाहा नभएको कुरा ज्ञानीहरूबाट सिक्थे, सयौं वर्षअघिका शासकहरू। मल्ल राजाहरूले धर्म, न्याय, दर्शन र अर्थशास्त्रजस्ता विषय जानेका तराईका कान्यकुब्ज र मैथिल ब्राह्मणहरूलाई काठमाडौंमा बोलाएर महत्त्वपूर्ण जिम्मेवारी दिएको इतिहासकार धनवज्र बज्राचार्यले लेख्नुभएको छ।
सन् १३२४ मा भारतबाट आएको तुगलकको फौजले तराईका विभिन्न ठाउँमा हमला गरेपछि त्यहाँका घरानिया मानिस काठमाडौं आएर यतै बसे। उनीहरूले जानेका असल कुरा मल्ल राजाहरूले ग्रहण गर्दा राज्य लाभान्वित भयो।
विभिन्न क्षेत्रबाट आएका सयौंथरी मानिस काठमाडौं उपत्यकावासी भए। यहाँका चालचलन सिके। यहाँका भाषा, संस्कृति, धर्म सबैलाई आफ्नो ठानेका कारण ती पनि ‘नेवार’ भए। मल्लकालको मात्रै अध्ययन गर्ने हो भने ऊबेलाको सुख, शान्ति, सभ्यता, संस्कृति र समृद्धि अनुपम लाग्छ।
कान्तिपुर (काठमाडौं), ललितपुर र भक्तपुरका प्राचीन दरबार, मठमन्दिर, चोक, सडक, फल्चा (फलैंचा), पोखरी, सहरको बनावट, रथयात्रा, चाडपर्व आदि प्रमाण छन्, त्यो कालखण्डमा जनता खुसी र सुखी थिए। धनवज्रले भनेझैं धर्म र संस्कृतिको धरातलमा समाज अनुशासित थियोे। मर्यादा थियो।
राजा यक्ष मल्लपछि उनका छोराहरूमा बेमेल हुँदा अंशबन्डाझैं गरेर काठमाडौं, ललितपुर र भक्तपुरमा तीन छोरा राजा भए। अनेकता र वैमनस्य बढ्दै गयो। उपत्यका कमजोर भयो।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौंका राजा जयप्रकाश मल्ललाई पराजित गरेर हनुमानढोका दरबारबाट राजकाज हेर्न थालेपछि मल्ल राजवंशको हातबाट शाहवंशीय राजाहरूमा देशको बागडोर गयो।
पृथ्वीनारायणले काठमाडौं, ललितपुर र भक्तपुरका अन्तिम राजाहरूको अपमान गरेनन्। बरु उनीहरूले सुरु गरेका काम र यहाँका धर्म, संस्कृति र मूल्यमान्यता शिरोधार्य गरे। मल्ल राजाहरूका प्रतिमामा सुनको जलप लगाएर संरक्षण गरे। नेवारी संस्कृति बचाउन यथेष्ट सहयोग गरे। ‘जीवित देवी’ मानिने कुमारीको चरणस्पर्श गरेर आशीर्वाद लिए। जनताले उनलाई ‘झिँगु जुजु’ (हाम्रो राजा) भनेर स्वीकार गरे।
‘नेपाल उपत्यकाको मल्लकालीन इतिहास’ ग्रन्थमा सूर्यविक्रम ज्ञवालीले त्यो कालखण्डमा भएको उन्नतिको चर्चा गर्नुभएको छ। साहित्य, कला, संगीत, नाटक आदिदेखि भौतिक उन्नयनका कारणले मल्लकाल समृद्ध थियो भन्ने उहाँको तर्क छ। धनवज्र बज्राचार्यले ‘मल्लकालमा देशरक्षाको व्यवस्था र त्यसप्रति प्रजाको कर्तव्य’मा राष्ट्रिय सुरक्षाको क्षेत्रमा विवेकी भएर मल्ल राजाहरूले काम गरेको उल्लेख गर्नुभएको छ।
पृथ्वीनारायणलाई पराजित गर्न काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले अंग्रेज फौज झिकाउनु ठुलो भुल थियो। सिन्धुलीसम्म आइसकेको त्यो फौजलाई नेपाली सेनाले पराजित नगरेको भए कालान्तरमा अंग्रेजले नेपाल नै कब्जा गर्ने थिए। हार्वर्ड विश्वविद्यालयका प्राध्यापक रहिसकेका अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले नेपाली फौजले नरोकेको भए इस्ट इन्डिया कम्पनीको फौज चीन पुग्न सक्थ्यो भन्नुभएको छ। ‘अन चाइना’ पुस्तकमा त्यसबखत चीन कमजोर भएको हुँदा अंग्रेजको सिकार बन्न सक्थ्यो भन्ने विश्लेषण छ।
कवि गोपालप्रसाद रिमालको कवितामा भनिए जस्तो ‘यो जन्मँदै जगत्मा सयौं प्रहार आए। साम्राज्य दुई हारे, हारेन सान हाम्रो।’ हो, हामी हारेनौं। इतिहासले सिकाएको पाठ बिर्सेनौं। नेपाली जनताको एकता खण्डित हुन दिएनौं। न्याय, सुशासन, सत्य, सदाचार, धर्म र संस्कृतिले हामीलाई एउटा घरको परिवारजस्तो बनाएको थियो। नेपाल हाम्रो र हामी नेपालका भन्ने मन्त्र बिर्सेनौं। यो प्रवल देशभक्तिले हरेक नेपालीको हृदयमा माटोको माया अझ मुखरित भयो।
हंगेरी मूलका लेखक सिलाजे मिक्लोसको ‘हाउ टु सेभ आवर कन्ट्रीः अ नन पार्टिसन भिजन फर चेन्ज’ पुस्तकमा राष्ट्र बचाउन शिक्षा पद्धति शुद्ध हुनुपर्छ भनिएको छ। यसमा सुशासन र स्वच्छ प्रशासन त्यत्तिकै महत्त्वको हुन्छ भन्ने तर्क छ। राष्ट्र हाँक्न नीति स्पष्ट हुनुपर्छ र नेता बहुलाए पनि नीति सही छ भने राष्ट्र संकटमा पर्दैन भनेर धेरै लेखकले लेखेका छन्।
राष्ट्रनिर्मातालाई कुनै पनि राष्ट्रमा गाली गरिँदैन। जर्मनी एकीकरण गर्ने विस्मार्क, इटलीका मेजिनी र ग्यारिवाल्डी, केन्याका जोमो केन्याता, बोलिभियाका बोलिभर, चीनका छिन सी हुआङती आदिको कत्रो इज्जत र सम्मान छ। नेपालमा केही राजनीतिकर्मी यस्ता पनि छन्, जो विदेशीलाई आफ्नो आदर्श मान्ने गर्छन्। दलका कार्यालयमा विदेशीको फोटो झुन्याउँछन् र पृथ्वीनारायणलाई गाली गर्छन्। प्रधानमन्त्री भएका व्यक्तिले नै सभ्यता, संस्कार र इतिहास बिर्सेर जथाभावी बोल्दा आफ्नो अवमूल्यन हुन्छ भन्ने हेक्का राख्नुपर्ने हो।
असभ्यबाट सभ्य शब्द र व्यवहारको अपेक्षा गर्नुहुँदैन तर नवीन पुस्तालाई असल कुरा सिकाउनुको साटो उग्र, उत्ताउलो र गतिछाडा भएर बोल्दा केही दासले ताली बजाउलान् तर सभ्य मानिसले त्यो सहज मान्दैनन्।
राष्ट्र कमजोर वा असफल हुने कारणहरू धेरै हुन्छन्। यसबारे अध्ययन र अनुसन्धान गरिरहेका संस्था भन्छन्, ‘राष्ट्रिय हितका विषयमा पनि बुद्धिजीवीहरू विभक्त हुन्छन्। आर्थिक अवसर नपाएका कारणले जनताले रोष व्यक्त गर्छन्। भ्रष्टाचार बढ्दै जान्छ। सरकारले जनआवाज सुन्दैन। बाहिरी हस्तक्षेप बढ्छ। सुरक्षा संयन्त्र निष्पक्ष हुँदैन। यसरी राष्ट्र असफल र कमजोर हुन्छ।
नेपाललाई हेरेर निचोड निकालेजस्तो लागे पनि दक्षिण अमेरिका, अफ्रिका, एसियाका केही राष्ट्र असफल भएको देखिन्छ। नेपालमा त्यस्तो दुर्दशा भोग्न बाध्य नहोस् र गृहकलह बढेर संयुक्त राष्ट्रसंघले हस्तक्षेप गर्ने परिस्थिति नआओस् भनेर कामना गर्ने अवस्थामा पुगेका छौं हामी।
शान्ति सेना तैनाथ गरिएका देशहरूले बेलैमा समयको पदचाप सुन्न सकेनन्। फलतः जताततै भत्किन थाल्यो। सामाजिक सद्भाव खल्बलियो। एकता खण्डित भयो। गृहयुद्ध हुन थालेपछि राष्ट्रिय सुरक्षा संयन्त्र पनि असफल भए। त्यो अवस्थामा संयुक्त राष्ट्रसंघले सेना पठायो। शान्ति सेनामा झन्डै सत्तरी वर्षअघिदेखि योगदान गरिआएको नेपाललाई यसबारे धेरै जानकारी छ।
संविधान, ऐन, कानुन र व्यवहारमा मात्रै नदेखिएको समस्या जनताको मनमा दावानल बनेर सल्किरहेको हुन्छ। बहुसंख्यक जनता रुष्ट भएको अवस्थामा कुनै पनि उपदेश, सम्झौता, प्रणाली र भाषणले समस्या समाधान हुँदैन। कुनै पनि दल हुन्, विश्वासको संकट भएमा त्यसले दुष्परिणाम मात्र ल्याउन सक्छ।
पञ्चतन्त्रमा भारण्ड चराको कथा आउँछ। दुईवटा मुख र एउटा शरीर भएको चराका दुई मुख आमुन्नेसामुन्ने भएर एक अर्कोलाई बेस्कन गाली गरिरहन्छन्। एउटा मुखले अर्काको प्राण लिने अभिप्रायले विष खान्छ र चरा मर्छ। त्यो अवस्थामा एउटा मुख मात्रै जीवित रहने सम्भावना हुँदैन। नेपाली राजनीतिका खेलाडीले यही कथाबाट शिक्षा लिन सक्छन्। सबैलाई समेटेर, सबैको अस्तित्व स्विकारेर अघि बढेको खण्डमा कोही अपमानित हुनुपर्दैन तर कसैको अस्तित्व स्वीकार नगर्ने हो भने भारण्ड चराको नियति भोग्नुपर्नेछ।
धनवज्र बज्राचार्यले ‘मल्लकालमा देशरक्षाको व्यवस्था र त्यसप्रति प्रजाको कर्तव्य’मा राष्ट्रिय सुरक्षाको क्षेत्रमा विवेकी भएर मल्ल राजाहरूले काम गरेको उल्लेख गर्नुभएको छ। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया