काठमाडौंः निषेधाज्ञाकै बिच तीनवटा कम्पनीको एकैपटक आईपीओ निष्कासन भएको छ । एकैपटक आईपीओ खोलेपछि अनलाइनमार्फत आईपीओ भर्ने मेरो सेयरको सिस्टममा समेत भीड भई समस्या आएको थियो । एकातिर मेरो सेयरमा समस्या आउनु अनि अर्कोतर्फ बैंक तथा वित्तीय संस्था बन्द भएका कारण धेरै उपभोक्ता बिहीबार अलमलमा परे ।
लकडाउनका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द भएका कारण सेयर खरिदकर्ताले भौतिक रूपमा बैंकमार्फत आवेदन भर्न पाएनन् । भौतिक रूपमा आवेदन भर्न नपाएपछि अनलाइनमार्फत नै आवेदन गर्नुपरेका कारण मेरो सेयरमा लोड थपिएको हो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अरू दिनमा १६ हजारसम्म लोड हुने गरेकोमा बिहीबार ४० हजारभन्दा बढी लोड पुगेको थियो ।
बुधबारदेखि लिबर्टी इनर्जीले र विहीबारदेखि रिलायन्स लायफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपीओ बिक्रीमा आएको हो । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री सुरु गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजारबराबरको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीको साधारण सेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० दरका सेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड र चुक्ता पुँजी १ अर्ब १२ करोड ५० लाख छ । साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्नेछ ।
यसैगरी समाज लघुवित्तले ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । आईपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । यसमध्ये १ हजार कित्ता कर्मचारीका लागि र ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७सय कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन मेरा सेयरमार्फत अवेदन दिन सक्नेछन् । सो समयसम्म आईपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
यस्तै, रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आईपीओ बिहीबारबाट बिक्रीखुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । ६३ लाख कित्ता आईपीओमा ३ लाख १५ हजार सामूहिक लगानी कोष र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो अवधिमा माग अनुसार आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।
लिवर्टी इनर्जीको आईपीओमा दोस्रो दिन २० लाख ३७ हजार ४ सय २० कित्तामा आवेदन परेको छ । ५२ हजार २ सय ४९ जनाले आवेदकले सो आवेदन दिएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।
लिबर्टी इनर्जी कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुला भएको पहिलो दिन बुधबार नै १० लाख २ हजार ६० कित्ताका लागि आवेदन परेको थियो । आईपीओ खुलेको पहिलो दिन बुधबार साँझसम्म २६ हजार १ सय ९० जना आवेदकले १० करोड २ लाख ६ हजार रुपैयाँबराबरको आवेदन दिएका थिए ।
रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री सुरु भएको पहिलो दिन अर्थात् बिहीबार नै २७ करोड ३० लाख १३ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५५ हजार २ सय ८४ जना आवेदकले २७ लाख ३० हजार १ सय ३० कित्ताका लागि आवेदन दिएका हुन् । इन्स्योरेन्सले बिहीबारबाट सर्वसाधारका लागि ५६ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरेको छ ।
यो आईपीओमा लगानीकर्ताले छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । समाज लघुवित्तले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिनै १६ गुणाभन्दा धेरै आवेदन परेको छ। लघुवित्तको आईपीओ १६.५२ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारीअनुसार बिहीबार बेलुका ५ बजेसम्ममा ५३ हजार १ सय ९ जना आवेदकबाट १३ लाख ३३ हजार ३ सय ९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । लघुवित्तले बिहीबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया