कार्तिक २२, २०८३ आइतबार November 8, 2026

अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द

केही दिनयता गाईघाटको तापक्रम ४० डिग्री पुगेपछि जनजीवन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: अत्यधिक गर्मी बढेपछि सदरमुकाम त्रियुगा नगरपालिकाले विद्यालयको पठनपाठन रोकेको छ। बुधबार साँझ एक सूचना जारी गर्दै नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको जानकारी दिएको हो।

गर्मी धेरै बढेकाले बालबालिकालाई पठनपाठन तथा अन्य गतिविधि गर्न कठिनाइ भएकाले जेठ २९ र ३० गते नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको नगरप्रमुख वसन्त बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ।

हाल दिइएको गर्मी बिदालाई बर्खे बिदामा स्वत: मिलान हुने गरी व्यवस्थापन गर्न पनि सम्बन्धित विद्यालयहरूलाई सूचित गरिएको छ। तर, नगरको शिक्षा शाखाको कामकारबाही भने यथावत रहने सूचनामा उल्लेख छ।

बिदा दिने निर्णय अनुसार नगरपालिकाका सामुदायिक तथा संस्थागत गरी ६७ वटा विद्यालयको पठनपाठन स्थगित भएको छ।

केही दिनयता गाईघाटको तापक्रम ४० डिग्री पुगेपछि जनजीवन प्रभावित भएको थियो। बुधबार बाटो हिँड्दा हिँड्दै एक वयस्क पुरुष ढलेर ठाउँका ठाउँ निधन भएको थियो। काममा गएर घर फर्कँदै गर्दा बिच सडकमा ढलेका त्रियुगा नगरपालिका २ का ४५ वर्षीय बिर्खबहादुर सार्कीको तत्कालै प्राण उडेको थियो।

यता नगरले बिदा दिने निर्णय गरेकै मध्य रातिदेखि भने सामान्य वर्षा भइरहेको छ। राति १२ बजेदेखि सुरु भएको वर्षा बिहीबार मध्यान्हसम्म जारी छ। वर्षा सुरु भएपछि गर्मीले उकुसमुकुस जनजीवनलाई राहत मिलेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया