काठमाडौं । नेपालको अग्रणी निजी स्वास्थ्य संस्था नेपाल मेडिसिटी अस्पतालले आफ्नै इतिहासमा पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ । पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गत जेठ ८ गते सम्पन्न भएको हो । उहाँलाई उहाँकै छोरा, २६ वर्षीय आयुष कार्कीले कलेजो दान गरेका थिए ।
स्वास्थ्य क्षेत्रको दृष्टिकोणले अत्यन्त जटिल र जोखिमपूर्ण मानिने कलेजो प्रत्यारोपण नेपालमै सफल हुनु ऐतिहासिक उपलब्धि हो । यो प्रक्रिया सम्पन्न गर्न अनुभवी चिकित्सक टोली, अत्याधुनिक प्रविधि र उत्तम समन्वय आवश्यक पर्छ । यही कारण धेरै नेपाली बिरामी विगतमा कलेजो प्रत्यारोपणका लागि भारत लगायत अन्य देश जान बाध्य हुँदै आएका थिए ।
तर, नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न प्रत्यारोपण भने सम्पूर्ण नेपाली विशेषज्ञहरूको टोली मार्फत सम्पन्न गरिएको हो । अस्पतालले भारतको सुप्रसिद्ध अमृता अस्पतालसँग सहकार्य गर्दै यो कार्यक्रम अघि बढाएको हो ।
डोनर आयुष कार्कीको शल्यक्रिया ९ घण्टा र रिसिभर ईश्वरबहादुरको शल्यक्रिया १३ घण्टा गरी जम्मा २२ घण्टा लामो प्रक्रियामा प्रत्यारोपण सम्पन्न गरिएको हो ।
आयुष कार्की भन्छन्, “बुबाको उपचारका लागि हामी दुई पटक भारत गयौं तर डाक्टरहरूको सुझावप्रति हामी विश्वस्त हुन सकेनौं । उल्टै डर थपियो । त्यसपछि नेपालमै मेडिसिटी अस्पतालमा परामर्श लिएर यहीं प्रत्यारोपण गर्ने निर्णय गर्यौं ।”
उहाँले थपे, “डाक्टरहरूले समयमै कलेजो प्रत्यारोपण गरिए मिर्गौला पनि जोगिन सक्ने बताएपछि निर्णय सजिलो बन्यो । पहिले नै नेपालमै प्रत्यारोपण गर्ने आँट गर्यो भए, धेरै पैसा र समय बच्थ्यो ।”
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभाग प्रमुख डा. उमिदकुमार श्रेष्ठका अनुसार बिरामीको मिर्गौला पनि बिग्रिसकेको अवस्थामा थियो । प्रत्यारोपण पश्चात मिर्गौलाको कार्यसम्पादनमा पनि सुधार देखिएको छ ।
कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रामबाबु साहका अनुसार बिरामी र परिवारलाई पहिले नै जोखिम र सम्भावनाहरूबारे स्पष्ट जानकारी दिइएको थियो । मिर्गौला प्रत्यारोपणको विकल्प खुला राखेर सुरुवात गरिएको भए पनि कलेजो प्रत्यारोपणपछि मिर्गौलामा सुधार देखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले भन्नुभयो, “हामीले यस्तो अस्पताल बनाएका हौं जहाँ नेपाली नागरिकले उपचारका लागि विदेश जान नपरोस् ।” उहाँले थपे, “मल्टिडिसिप्लिनरी चिकित्सक टोलीको तयारी र अत्याधुनिक प्रविधिले यस्तो जटिल शल्यक्रिया सफल भएको हो ।”
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार सन् २०२३/२४ मा मात्र ७० भन्दा बढी नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका छन् । भारतमा यस्ता शल्यक्रियाको खर्च औसत ५० लाख भारु पर्छ भने नेपाल मेडिसिटीमा सम्पन्न प्रत्यारोपण ३५ लाख नेपाली रुपैयाँ हाराहारी खर्चमा सम्पन्न भएको बताइएको छ ।
नेपाल मेडिसिटी अस्पतालले यसअघि ४५ जना बिरामीको मिर्गौला प्रत्यारोपण तथा ५ सयभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अस्पतालले आगामी दिनमा जटिल अंग प्रत्यारोपण सेवाहरूलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया