काठमाडौँ । नेपालबाट बङ्गलादेशतर्फ विद्युत् निर्यातको मार्ग खुलेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार असार १ गते (जुन १५) देखि नेपालले बङ्गलादेशलाई दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्ने तयारी पूरा भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार विद्युत् निर्यातका लागि आवश्यक सबै वित्तीय र प्राविधिक तयारी पूरा भइसकेका छन्। बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि ‘प्रतीतपत्र’ (Letter of Credit – LC) पनि प्रस्तुत गरिसकेको छ।
ढकालका अनुसार विद्युत् भारतको प्रसारण सञ्जालमार्फत बङ्गलादेश पठाइनेछ। यसका लागि भारतको नेसनल लोड डिस्प्याच सेन्टरसँग नेपाल र बङ्गलादेशका अधिकारीबीच आवश्यक छलफल र सहमति भइसकेको छ। “अब कुनै प्राविधिक वा कानुनी अड्चन छैन,” ढकालले भने, “असार १ गतेबाट प्रतिदिन ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश पठाइनेछ।”
नेपालले उत्पादन गरिरहेको जलविद्युत् बङ्गलादेश निर्यात गर्नु एक ऐतिहासिक उपलब्धि मानिएको छ। यो व्यापार त्रिपक्षीय सहकार्यको उत्कृष्ट नमूना भएको विज्ञहरूले बताएका छन्। विद्युत् व्यापारको यो नयाँ अभ्यासले नेपाललाई ऊर्जा व्यापारको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ।
यसअघि भारतलाई मात्र विद्युत् बेच्दै आएको नेपालका लागि बङ्गलादेश दोस्रो अन्तर्राष्ट्रिय ग्राहक बन्न लागेको हो। यस परियोजनाबाट नेपालले विदेशी मुद्रामा आम्दानी बढाउनुका साथै आफ्नो ऊर्जा बजारलाई विस्तार गर्न सक्नेछ।
नेपाल र बङ्गलादेशबीच सन् २०१८ मा विद्युत् व्यापारको समझदारीपत्र (MoU) भएको थियो। त्यसपछि भएका विभिन्न चरणका समझदारी, समझौता र अनुमतिका आधारमा अब पहिलोपटक बङ्गलादेशलाई ऊर्जा निर्यात सुरु हुन लागेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया